
बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएका दहचोकका ७ वर्षीय बालक बाराबाट काठमाडौं आएका बताइएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट चन्द्रागिरि नगरपालिका–१ दहचोकमा बस्ने ती बालकमा कोरोना पोजेटिभ देखिएको हो ।
ती बालक आफ्नो मामाघर बाराबाट ६ वैशाखमा काठमाडौं आएका वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।
दोलखा स्थायी घर भएका ती संक्रमित बालकको परिवार दहचोकस्थित घट्टेडाँडामा सानो छाप्रो बनाएर बस्दै आएका छन् ।
अध्यक्ष केसीका अनुसार उनका बुबा काठमाडौंमा ट्याक्सी चलाउँछन् । आमा सामान्य कृषि गर्छिन् ।
बालकको स्वास्थ्य अवस्था सामान्य रहेका पनि वडाध्यक्ष केसीले जानकारी दिए ।
ती बालकका बुवा र आमाको अवस्था पनि ठीकै रहेको केसीले बताए ।
मामाघरबाट फर्किएपछि ती बालक अन्य बालबालिकासँग समेत घुलमिल हुन सक्ने बताउँदै केसीले भने-‘संक्रमितको कन्ट्याक्टमा आएकाहरुको खोजी गरी तत्काल कोरोना परीक्षण गर्छौं ।’