नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २६ हजार ५ सय ३९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार मात्र १ हजार ३ सय ९० जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २३ हजार ३ सय ८२ जना उपचारका क्रममा रहेका छन् ।
कतार समाचार एजेन्सीका अनुसार कतारमा ३ हजार १ सय ४३ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको ज्यान गएको छ ।
नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ ।
कतारमा १ लाख ३९ हजार १ सय २७ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।