
दैनिक कोरोना संक्रमित बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन खुकुलो बनाइएका कारण कोरोना संक्रमित बढेको भन्दै असन्तुष्टी जनाएका छन्। .
मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाइएको र बाहिरबाट आएका नागरिकले आफ्नो कर्तव्य पूरा नगरेका कारण कोरोना संक्रमण समुदायमा फैलिएको बताएका थिए।
उनले यस्तो अवस्थामा बाहिरका मानिस स्वदेश फर्किएपनि सरकारी मापदण्ड पूरा गरेको भए अहिलेको अवस्था नआउने भन्दै स्वदेश फर्किने अधिकार खोज्दा कोरोना संक्रमण समुदायमा फैलिएको प्रधानमन्त्रीले बताएको एक मन्त्रीले जानकारी दिए।
‘सरकारले त एउटा मापदण्ड बताउने हो तर त्यसको पालना गर्ने त नागरिकले हो,’ बैठकमा प्रधानमन्त्रीले भनेका थिए, ‘हामीले सकेसम्म बाहिरबाट कोही पनि नआउनु भन्ने चाहेका थियौं, तर सबैले अधिकारको कुरा गरे, उहाँहरु आएर पनि सरकारले तोकेको मापदण्ड पूरा गरेको भए अहिलेको जस्तो अवस्था आउने थिएन।’
मंगलबारको मन्त्रिपरिषद बैठकमा लकडाउन र यसका मेडालिटीका विषयमा छलफल नभएपनि प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेको एक मन्त्रीले जानकार दिए।
आज नेपालमा सबैभन्दा धेरै अर्थात ५७ जनामा कोरोना संक्रमण भेटिएको छ । यति ठूलो संङख्यामा कोरोना देखिएको यो पहिलो पटक हो ।