काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाउँदै त्यसको एकजुट भएर प्रतिवाद गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुन सक्ने उनको भनाइ छ।
पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा सोमबार बोल्दै ओलीले २०७७ सालदेखि नै एमालेमाथि घेराबन्दी सुरु भएको र पार्टी विभाजनदेखि सामाजिक सञ्जालमार्फत नेताहरूको चरित्रहत्या गर्ने प्रयाससम्म भएको आरोप लगाए।
२०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ भदौ १० मा पार्टी विभाजन गराइएको र २०७९ को निर्वाचनमा विभिन्न दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको दाबी थियो। त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले पार्टीभित्र सुदृढ एकता कायम गर्नुपर्ने बताए।
ओलीले पार्टीभित्रैका केही नेताका गतिविधिले चुनौती थपेको उल्लेख गर्दै आगामी दिनमा नीतिप्रतिको निष्ठा, नेतृत्वप्रतिको इमानदारिता र कर्मशीलतालाई मूल्यांकनको आधार बनाइने बताए।
उनले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता कमजोर पार्ने काम भइरहेको आरोप लगाउँदै तिनको रक्षाका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताए। आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने उल्लेख गर्दै उनले आगजनी र लुटपाटलाई आन्दोलन भन्न नसकिने बताए।
‘आगो लगाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन,’ ओलीले भने।
पार्टीका नेता–कार्यकर्तालाई निष्ठापूर्वक सक्रिय हुन निर्देशन दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न सानातिना विवादमा अल्झिनुभन्दा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।