गोरखा । उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् ।
सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन् । आइतबार मध्यरातिदेखि आएको बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए ।
चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सर्स्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगत्मा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए ।
‘बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पुर्यायो, पुर्यायो । पावर हाउस चाँही सुरक्षित छ’, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए ।
विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी संघसंस्था र स्थानीय नागरिक पनि मर्कामा परेका छन् । हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्थासमेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । ‘फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो’, उनले भनिन्, ‘झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।’ उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ । बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिकावासीलाई झनै मर्का परेको छ ।
हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घरधुरी विद्युत्विहीन बनेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए ।
‘बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाँटो, पुल सबै बगायो’, उनले भने । जिल्लाको आरुघाट गाउँपालिकाका ५० घरधुरी समते विद्युत्विहीन बनेका छन् । पालिकाका अध्यक्ष राजु गुरुङले आरुघाटको वडा नं ५ शान्ति बजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।