एयर इण्डियाका पाँच पाइलटमा पनि कोरनाभाइरसको संक्रमण पुष्टि भएको छ। बाेइङ्ग ७८७ फ्लाईट नम्बरकाे प्लेन उडाउने पाईलटमा काेराेना संक्रमण भेटिएकाे हाे । साथै एक टेक्निसियन र इन्जिनियरमा पनि कोरोनाको संक्रमण देखिएको छ।
शनिबार ७७ जना पाइलटमा गरिएको परीक्षणमध्ये पाँच जनामा संक्रमण देखिएको हो। संक्रमित पाइलटहरूमा कोरोनाभाइरसको कुनै लक्षण नदेखिएको र सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ।
गत अप्रिल १८मा बोइङ ७८७ विमान मेडिकल सामान लिन ग्वाङजाउ उडेको थियो। एयरलाइन्सले सामान लिन साङ्घाई र हङकङमा समेत विमान पठाएको थियो।
एयर इण्डियाले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई मे ७ देखि इरान, इटाली लगायतका राष्ट्रबाट समेत फिर्ता ल्याउन थालेको छ। एयर इण्डियाले करिब १५ हजार भारतीयलाई फिर्ता ल्याउन ६४ उडान भर्नेछ।
एयरलाइन्सका कर्मचारीकाे सुरक्षाका लागि सरकारले गाइडलाइन्स तयार पारेको छ। विमान चालक दल तथा अन्य कर्मचारीहरूले उडान भर्नुअघि र पछि स्वाब परीक्षण अनिवार्य गराउनुपर्नेछ।
उडानपछि उनीहरूलाई परीक्षणको रिपोर्ट नआएसम्म होटलमा राखिने र नेगेटिभ आएमा मात्रै एयरलाइन्सको गाडीले घर पुर्याइदिने गरेको छ। पाँच दिनपछि उनीहरूको पुनः परीक्षण गरेर मात्रै खटाइने गरेको जनाएको छ। इकाेनाेमिक्स इन्डियामा ले बताएअनुशार उनीहरु तीनहप्तादेखि कतै उडान गरेका छैन्न ।