
कोरोना भाइरसको संक्रमण घट्न नसकेकाे भारतमा पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्यामा उतारचढाव देखिएकाे छ भने दैनिक ३ हजारबढी नयाँ संक्रमित फेला फरिरहेका छन् । संक्रमित संख्या झण्डै ६० हजार पुगेकाे छ ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ९ सय ८५ पुगेकाे छ । त्यहाँ कुल संक्रमितको संख्या पनि ५९ हजार ६ सय ९५ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।
शुक्रबार एक दिनमा मात्र त्यहाँ ९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बिहीबार त्यहाँ काेराेनाबाट १ सय ४ जनाले ज्यान गुमाएका थिए ।
पछिल्लो २४ घण्टामा (शुक्रबार) भारतमा ३ हजार ३ सय ४४ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार पनि त्यहाँ ३ हजार ३ सय ६४ नयाँ संक्रमित फेला परेका थिए । बुधबार यो संख्या ३ हजार ५ सय ८७ थियो ।
यसैबीच भारतमा १७ हजार ८ सय ८६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । बाँकी ३९ हजार ८ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ (जेठ ४) सम्म पुर्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुनः १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो ।