काठमाडौं । पूर्वराज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।
समाजवादी र राजपा मिलेर बनेको जनता समाजवादीका नेता केशव झाले सरकारी वकिल कार्यालयले सांसद यादवले दिएको निवेदन दर्ता गरेको जानकारी दिए।
‘सांसद यादव र वकिलहरू आज सरकारी वकिल कार्यालय जानुभएको थियो। उहाँहरूले दिएको निवेदन दर्ता भएको छ,’ झाले भने, ‘दर्ता नम्बर १०४७ हो।’
यसअघि सरकारी वकिल कार्यालयले आफूहरूलाई केही समय अध्ययन गर्न दिन भन्दै निवेदन दर्ता गरेको थिएन।
जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौं गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन।
नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ।
सांसद यादवले उक्त घटना छानबिन गर्न माग गर्दै केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएका थिए।
महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवअपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
आफूहरुले अपहरण नगरेको भन्दै उनीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।
डा. यादवले उनीहरु विरुद्ध अपहरण गरेको भन्दै वैशाख १८ गते बुधबार राष्ट्रिय मानव अधिकार आयोगमै उजुरी दिएका थिए ।
डा यादवले आफूलाई अपहरणको शैलीमा सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।