
काठमाडौं । नेपालगन्जमा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ९ व्यक्तिहरुलाई एउटै व्यक्तिबाट संक्रमण भएको देखिएको छ। गत साता पहिलोपटक नेपालगञ्जमा भेटिएका कोरोना संक्रमित मस्जिदका गुरुबाट नै अरुलाई संक्रमण भएको पुष्टि भएको छ।
नेपालगन्ज-८ स्थित जोलाहनपुरवास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पठाउने व्यक्ति)मा संक्रमण पुष्टि भएपछि टोल नै सिल गरेर परीक्षण शुरु गरिएको थियो। शनिबार टोलका ९० जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण शुरु गरिएको थियो ।
९० जनामध्ये ३० जनाको परीक्षण गरिसक्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।
अपडेट : आइतबार साँझ थप ६ जनामा कोरोना पुष्टि भएको छ ।
पढ्नुहोस् यो पनि : रेड जोनमा नेपालगञ्ज : फेरी थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए
बाँकी ६० जनाको पनि परीक्षण भइरहेको छ। शुरुमा कोरोना पोजेटिभ रिपोर्ट देखिएका ६० वर्षीय मस्जिदका गुरुलाई भने खजुरास्थित आइसोलेसन अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। आज थप संक्रमण देखिएकाहरुलाई पनि अस्पताल ल्याउन लागिएको बताइएको छ।
छुटाउनु भयो कि ?
क्याम्पसको क्वारेन्टाइनबाट हुलमुलसहित निस्केका थिए पहिलो संक्रमित एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट जबर्जस्त हुलमुलसहित निस्किएका व्यक्तिहरुसँगै ती व्यक्ति पनि निस्किएका थिए। भारतस्थित आफन्त भेटेर आएका ती मस्जिदका गुरुलाई एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा राखेको बेला झण्डै ६ सय जति हुलमुलका साथ जबर्जस्त निस्किएर घर गएका थिए। सोही हुलमुल निस्किएको मौकामा उनी पनि निस्किएर घर गएका थिए। कोरोना संक्रमित उनकै परिवारका सदस्य हुन् वा टोलका बासिन्दा हुन् भन्ने खुलिसकेको छैन। आइसोलेसन अस्पताल खजुराका प्रमुख डा. प्रकाश थापाले पोजेटिभ भेटिएका ९ जनाको पहिचान गरी आइसोलेसन अस्पताल लैजाने तयारी भैरहेको जानकारी दिनुभयो।