
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमारनेपालबीच शुक्रबार भेटवार्ता भएको छ ।
सचिवालय बैठकको एक दिनअघि दुई नेताबीच भेटवार्ता भएको हो । पार्टीभित्रको आन्र्तसंघर्षमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीविरुद्ध प्रचण्ड–नेपालले मोर्चाबन्दी कसेका छन् । त्यसअघि दुवै नेतालाई नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटेकी थिइन् ।
नेपाल निवास कोटेश्वरमा भएको भेटमा बुधबारको सचिवालय बैठकमा केपी ओलीले राखेको प्रस्ताव अस्वीकार गर्ने सहमति भएको छ । ओलीले आफूविरुद्धको मोर्चाबन्दी टुटाउने प्रयासमा नेता नेपाललाई तेश्रो अध्यक्ष र वामवेद गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका थिए ।
स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहले ओलीको उक्त प्रस्तावलाई सत्ता लम्ब्याउने रणनीतिक चालका रुपमा बुझेको छ ।
‘आफैंले खडा गरेको संकटका कारण घेराबन्दीमा परेपछि तै पनि केही समय सत्ता लम्ब्याउन सकिन्छ कि भनेर ओलीले रणनीतिक चालका रुपमा प्रस्ताव राख्नुभएको हो’, नेपालनिकट एक नेताले भने, ‘यसलाई नेताहरुले राम्रोसँग बुझ्नुभएको छ ।’