झापाको गौरादहमा आज कोरोना भाइरस पुष्टि भएका दुई पुरुष काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेको खुलेको छ ।
काँकरभिट्टा हुँदै आएका पुरुष सिक्किमबाट काँकरभिट्टा नाकामा आइपुगेपछि नगरपालिकाको टोलीले केही दिनअघि उद्धार गरेको थियो । गौरादहका उनलाई वडा नम्बर ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएको थियो ।
गौरादहका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाका अनुसार कोरोना संक्रमित अर्का पुरुष भारतको उत्तर प्रदेशबाट बिहार हुँदै कुञ्जीबारी नाकाबाट नेपाल प्रवेश गरेका थिए । उनी पनि गौरादहकै हुन् । यसअगाडी गौरादहमा कोरोना संक्रमित फेला परेका थिएनन् ।
त्यस्तै, कचनकवलमा कोरोना संक्रमित पुष्टि भएका १५ जना मानिस मुम्बाईबाट बिहार हुँदै नेपाल प्रवेश गरेका थिए ।
उनीहरु जानकी माविको क्वारेन्टिनमा रहँदै आएका थिए । १७ जना संक्रमितलाई बुधबार नै विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि पठाइएको छ ।
यसअगाडी ३५ जना संक्रमित भेटिएको झापा जिल्लामा नयाँ संक्रमित थपिएसँगै ५२ पुगेका छन् । झापा दमकका एक संक्रमित र बाह्रदशीका अर्का संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो समय झापाको दक्षिण भाग कचनकवलमा ठूलो संख्यामा संक्रमितहरु भेटिन थालेका छन् । भारतले यात्रुबाहक रेल सेवा सुचारु गरेसँगै झापामा संक्रमितको संख्या बढ्न थालेको हो ।
झापाबाट सञ्चालन हुने झापा टुडेको सहयोगमा यो समाचार तयार पारिएको हो ।