
कोरोनाभाइरसबाट संक्रमित भएका २ महिने शिशु र १० बालबालिका सहित १८ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनबाट आइतबार राति ११ बजे डिस्चार्ज गरिएका १८ जना, एउटै परिवारका हुन् ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो ।उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
अस्पतालमा ल्याएर राखिए पछिको लगातार २ पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएकाले १८ जनालाई आइतबार राति ११ बजे डिस्चार्ज गरी घर पठाइएको मेसु उपाध्यायले जानकारी दिए ।आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।
यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ९ जनालाई डिस्चार्ज गरिएको थियो । आइतबार राति १८ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोलेसनमा अब ७१ जना मात्रै संक्रमीत उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए ।वीरगन्जको नारायाणी अस्पतालको आइसोलेसनमा ४४ र गण्डक हस्पिटलको विशेष कोरोना अस्थायी अस्पतालमा २७ जना संक्रमितहरु उपचाररत रहेको मेसु उपाध्यायले बताए ।