
काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या ४५७ पुगेको बताएपनि ३ जना थपिएपछि संख्या ४५६ पुगेको हो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित गरिने प्रेस ब्रिफिमा संक्रमितको संख्या ४५३ पुगेको बताएका थिए अहिले आएको विज्ञप्तीअनुसार थप ३ जना थपिएपछि जम्मा संक्रमित संख्या ४५६ हुनुपर्नेमा भुलवस ४५७ हुन पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बाँकेमा थप २ संक्रमित भेटिएसँगै सो जिल्लामा संक्रमित हुनेको संख्या ३ अंक (१०० वा सो भन्दा माथि) मा पुगेको छ । पछिल्लो विवरणअनुसार बाँके जिल्लामा संक्रमितको संख्या १०१ पुगेको छ ।