
मेराे नाम रघुनाथ राजवंशी हाे ।
मेरो घर झापा जिल्लामा पर्छ ।
म झापामा सानाे व्यवसाय गरेर बसेकाे थिए ।
व्यापार छाडेर बिर्तामाेडकाे मेनपावर मार्फत म कतार आए ।
कतारमा काम राम्रै चलिरहेकाे थियाे ।
तलब पनि दिएकै थियाे ।
हाम्राे कम्पनी अलि कमजाेर नै भएपनि मैले सुखदुख गरेर ३ वर्ष कटाए ।
कम्पनीले केहि साथीहरुलाई घर पठाइरहेकाे थियाे ।
३ वर्ष बसेपछि म पनि अब घर जाने साेचेर राजीनामा दिए ।
मैले राजीनामा दिएकाे बेलामा काेराेनाकाे महामारी तथा लकडाउन थिएन ।

मैले डिसेम्बर २५ तारिकमा राजीनामा दिए ।
र जनबरी १२ तारिक सम्म ड्युटी गरे ।
हामी सँगै काम गर्ने साथीहरुलाई उनीहरुकाे हिसाब मिलाएर घर पठाइरहेकाे थियाे ।
म पनि मलाई घर पठाउँछ भनेर बिश्वस्त भए ।
एक दिन दुई दिन गर्दै समय बित्न थाल्याे तर कम्पनीले पैसा दिने र घर पठाउने छाँटकाँट देखाएन ।
बिश्वभर काेराेना महामारी बिस्तारै फेलिदै गएकाे थियाे ।
मनमा घर जान नपाउने डरले सताउन थाल्याे, नभन्दै २ महिना पछि लकडाउन भयाे र म लगायत हाम्राे कम्पनीमा काम गर्ने सबै यतै राेकियाैं ।
कम्पनीले गरेकाे सानाे गल्तीकाे कारण आज हामी यस्ताे सजाय भाेगिरहेका छाैं । न त कम्पनीले घर पठाउन पहल गर्छ न त सरकारले नै अलपत्र नेपालीलाई घर लाने बिषयमा चासाे देखाउँछ ।
हामीले पटक पटक कतारमा रहेकाे नेपाली राजदुताबासमा खबर गर्याै । उहाँहरुसँग धेरै आश थियाे तर निराशामा परिणत भयाे ।
नेपालमा रहेका धेरै संघसंस्थालाई पनि गुहार्यौ तर कतैबाट केहि पनि भएन ।

तपाईहरु आफ्नाे देशमा आफ्नाे परिवारसँग लकडाउनमा परेर बस्दा त छटपटिनु भएकाे छ भने बिरानो देशमा काेठामा कुजिँएर बस्दा हामीलाई कस्ताे भएकाे हाेला ?
हाम्रो कम्पनीको पनि धेरैलाई कोरोना भएर अस्पताल लग्यो तर हामीलाई समस्या भएको छैन ।
लेवर बस्ने क्वाटरमा मेसिन राखेको छ त्यहिबाट चेक गरेर मात्र भित्र आउन बाहिर जान पाईन्छ त्यहि भएर कोरोनाको डर छैन ।
बाहिर सामान किन्न जान पनि दिन्छ । तर ४ महिनादेखि काम बिहिन भएर बसेको हामीसँग कहाँबाट पैसा हुनु र सामान किन्न जानु ?
म यहाँ आएको ४० महिना भयो । काम नभएपछि पैसा आउने आश त छैन ।
तर ३ बर्ष देखि बसेको सेलेटमेन्ट चै दिएको छैन ।
४ ५ पटक हामीलाई चेक गर्न पुलिस चै आए ।
तर त्यो चै दिएन्न ।
हिसाब नदिएर हामीलाई कम्पनीले फसायो ।
हाम्रो कम्पनी त्यसै पनि कमजोर छ हामी भन्दा अगाडीको सबैलाई पठायो तर हामीलाई हिसाब नदिएर २ महिनासम्म अल्झायो र हामी यो समस्यामा पर्यौ ।
अब कहिले सम्म यसरी नै बस्नु पर्ने हौ केहि टुङ्गो छैन ।
नेपाल सरकार हाम्रो अभिभावक हो त्यसैले अब अन्तिम आश भनेको नै नेपाल सरकार हो ।
सरकारले हाम्रो उद्धारमा पहल गरिदिए हुने थियो ।
पहिले पहिले त खान सम्म दिएको थियो अहिले त त्यो पनि छैन । पाउरोटीमा जीवन गुजरा गर्न बाध्य छौं ।
एउटा रुममा त ४ जना मात्र बस्छौं । आफै खान बनाएर खान मिल्दैन । आज पनि कम्पनीले खाजा र खान दिएन त्यही भएर हामीले पाउरोटी किनेर छाक टार्यौ । अब भोलीबाट के हुन्छ थाहा छैन हेरौं ।
लेखक झापा जिल्लाका हुन् । हाल उनी कतारमा छन् । केटीएम दैनिकका रेगन कार्कीले फेसबुक मार्फत उनीसँग सम्पर्क गरेका हुन् ।