नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरि नयाँ नक्शा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भैसकेको छ ।
नेपालले आफ्नो भू–भाग वार्ताको माध्यमबाट फिर्ता ल्याउने बताइसकेको छ ।यो बिषयमा नेपाली चलचित्रका कलाकारहरुले पनि आवाज उठाउन थालेका छन् ।
एकातिर, नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको बिषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् ।यो बिषयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाई सार्वजनिक गरेका छन् ।
नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाई राखेका हुन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधीले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू–भाग हो ।’
हमालले भारतको पछिल्लो समयको गतिविधी स्विकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले, सम्पुर्ण नेपाली जनताले आफ्नो सिमाको बिषयमा कुनै पनि खालको संझौता नगर्ने उल्लेख गरेका छन् ।
हमालले नेपाल र भारतविच उठेको सिमानाको समस्याले सिंगो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् । उनले, भारतलाई इतिहास पल्टाएर हेर्न पनि आग्रह गरेका छन् ।
हमालले भारतले भूकम्पको समयमा नेपालमा नाकाबान्दी लगाएर भारतले दिएको ठूलो दुःखलाई नेपालले कहिले पनि विर्सन नसक्ने पनि बताएका छन् ।उनले भनेका छन्–‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कुटनितिक तवरमा समस्या समाधान गर्न आवश्यक छ ।
सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ ।’