
धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबार साँझ गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोनाको संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको सोमबार स्वाब संकलन गरी धरान पठाईएको थियो ।
संक्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंकामा अस्पतालमा उपचाररत ७ जना बिरामी, ३ जना कुरुवा र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारका सदस्यको स्वाब परीक्षणका लागि पठाईएको थियो ।
जसमध्ये ६७ वटा स्वाब परीक्षण गर्दा चार पुरुष र एक महिलामा कोरोना संक्रमण भेटिएको धनकुटा अस्पताल स्रोतले जानकारी दिएको छ । बाँकीको स्वाब परीक्षण भईरहेको छ । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा पुष्टि गर्न बाँकी रहेको छ । सम्भवत आज नै संक्रमितको विवरण सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ ।