
आज भैरहवाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका गुल्मि जिल्लाका ४१ वर्षिय पुरुष आइसीयुमा उपचार गरिरहेका व्यक्ति भएको खुलेको छ ।
पहिलो पटक ५ नम्बर प्रदेशको पहाडी जिल्ला गुल्मीमा समेत कोरोना देखिएको हो ।
गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।
श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको हो। भैरहवाको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।
जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएको बताइएको छ । उनमा कसरी कोरोना सर्यो भन्ने अझै खुलिसकेको छैन् । प्रदेश ५ को बाँकेमा ४७ जना संक्रमित देखिएका छन्।
नरैनापुर क्वारेन्टाइनमा रहेकाहरुमा पनि संक्रमण देखिएको छ। उनीहरु सबै भारतबाट आएको बताइएको छ । व्यक्तिको पहिचान र ट्रेसिङको काम थालिएको छ । दाङमा समेत एक जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै दाङमा संक्रमितको संख्या ४ पुगेको छ ।
संक्रमितको संख्या ३५७ पुग्दा २९८ जना पुरुष रहेका छन् भने ५९ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् । अहिलेसम्म ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने २ जनाले ज्यान गुमाइसकेका छन् ।