
राजस्थान । भारतको राजस्थानमा प्रदेश सरकारले कोरोना संक्रमित पहिचानका लागि प्रयोग गर्दै आएको ‘र्यापिड टेस्ट किट’ प्रयोगमा रोक लगाएको छ । परीक्षणको सटिक नतिजा नआएको भन्दै राजस्थान सरकारले द्रुत परीक्षणका लागि प्रयोग हुँदै आएको किटबाट अब परीक्षण नगर्ने निर्णय लिएको हो ।
भारतीय चिकित्सा अनुसन्धान परिषद (आइसीएमआर) द्वारा राज्यहरुलाई उपलब्ध गराइएको र्यापिड टेस्ट किटको नतिजा विश्वसनीय नभएको राजस्थान राज्य सरकारको भनाइ छ । आइसीएमआरलाई समेत यसबारे जानकारी गराइसकेको राज्य सरकारले जनाएको छ ।
राज्यका स्वास्थ्य मन्त्री रघु शर्माका अनुसार ९० प्रतिशत नतिजा सटिक आउने अपेक्षाविपरीत उक्त किटले ५.४ प्रतिशतमात्र सटिक परिणाम दिएको छ । उक्त किटबाट कुनै लाभ नभएका कारण राज्य सरकारले प्रयोग नगर्ने निर्णय गरेको उनको भनाइ छ ।
स्थानीय सवाई मान सिंह सरकारी अस्पतालमा चिकित्सा र माइक्रोबायलोजी विभागका प्रमुखहरु सम्मिलित समितिले उक्त किटको सटिकताबारे परीक्षण गर्दा ५.४ प्रतिशत नतिजामात्र सही पाइएको थियो ।
उक्त समितिकै सल्लाहअनुसार किटको प्रयोग रोकिएको मन्त्री शर्माको भनाइ छ । आइसीएमआरलाई यसबारे लिखित जानकारी गराइसकेको बताउँदै उनले आफूहरुले जवाफको प्रतीक्षा गरिरहेको उल्लेख गरे ।
पहिलादेखि नै पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा पोजेटिभ नतिजा आएका बिरामीमा पनि सो किटको प्रयोग गरिएको थियो । किटबाट गरिएको परीक्षणमा पीसीआर प्रविधिबाट पोजेटिभ देखिएका बिरामीलाई समेत ‘नेगेटिभ’ पाइएपछि किटको विश्वसनीयतामा प्रश्न उठेको मन्त्री शर्माले बताए ।
द हिन्दुबाट