उपचारको क्रममा निधन भएकी मोडल तथा कलाकार निशा घिमिरेको अन्तिम संस्कार गरिएको छ ।
उनको आज (बिहीबार) बिहान उनको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको हो । दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो ।
‘निशा घिमिरे संरक्षण कोष’ले दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट परिसरमा राखेको हो । निशालाई केही कलाकर्मी र उनकोे परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको बुधबार साँझ ६:१५ बजे निधन भएको थियो ।
दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।
खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।
३ बर्ष अगाडि भारतमा अध्ययनका लागि पुगेकी नीशा गम्भिर कार दुर्घटनामा परेकी थिइन् ।
भारतमा केही समय उपचार गराएर उनको परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल ल्याएपछि पनि उनको केही समय उपचार गरिएको थियो । तर, उनी लामो समयदेखि घरमै अचेत अवस्थामा थिइन् ।
तस्विरहरू