‘मेरी बास्सै’ टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डंगोल यति बेला अस्पतालमा उपचार गरिरहेकी छिन ।
कलाकार दिपाश्री निरौलाले आफ्नो फेसबुकमा पोस्ट गर्दै जानकारी दिएकी हुन् ।
किड्नी मा समस्या आएर टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा पल्पसा डंगोललाई भर्ना गरिएको जानकारी दिएकी हुन् ।
त्यस्तै सबै मिलेर स्वास्थ्य लाभको कामना गर्न सबैलाई अनुरोध पनि गरेकी छिन।
सुत्केरीमा मेरीबास्सै
पल्पसा सुत्केरी थिइन् । सुत्केरी हुँदा त्यति टिभी हेर्न पनि नपाइने । अचानक एक दिन टिभी खोलिन् । दमन रूपाखेतीले बनाएको ‘मेरीबास्सै’ आयो । चार भाग पुगिसकेको थियो । पल्पसाले सोचिन्, ‘ए, दमनले नयाँ टेलिसिरियल बनाएछ ।’
यतिकै बसिरहेकी थिइन् । सुत्केरी मान्छे, छोरीको ख्याल गर्नुपर्ने । अचम्म ! मेरीबास्सै हेरेको भोलिपल्टै उनलाई दमनको फोन आयो । दमनले उनलाई मेरीबास्सैमा खेल्नका लागि अफर गरे । पल्पसाले भनिन्, ‘भाइ, म सुत्केरी छु, कसरी खेल्नु र ।’ दमनले त्यस्तै पात्र चाहिएको र एक इपिसोड गरेर हेरौँ भन्ने प्रस्ताव गरे । अनि गइन् मुला सागको श्रीमती चम्सुरीको भूमिका निर्वाह गर्न । ‘त्यतिखेर ३८ दिनकी छोरी छाडेर सुटिङ गर्न गएँ,’ उनले भनिन्, ‘आखिर मलाई चम्सुरी बन्न लेखेको रैछ ।’
सिरियल अलिअलि गरेको भए पनि पल्पसालाई कमेडी के हो भन्ने थाहा थिएन रे । तर पनि जसोतसो आफूले पाएको भूमिका निर्वाह गरिन् । भन्छिन्, ‘तर, अहिले यहाँसम्म आइपुग्दा अभिनय त नशाजस्तो भएको छ ।’ अहिले त मेरीबास्सैले ६ सयभन्दा ज्यादा भाग पूरा गरिसकेको छ । मेरीबास्सै सुरु भएको पनि १३ वर्ष पुगिसक्यो । १३ वर्षको अन्तरालमा धेरैले मेरीबास्सै छाडे, धेरै मेरीबास्सैमा आए । मेरीबास्सैमा १३ वर्षदेखि रहेका दुईजना मात्र छन् अहिले । जो हुन, दाह्री बा र चम्सुरी ।
सोच्दै नसोचेको सफलताको सामना गरेकी पल्पसाका लागि मेरीबास्सै यस्तो सञ्जीवनी बुटी भइदियो, जसका कारण नै उनलाई सबैले चिन्छन् । स्टेज प्रोगाम पनि मेरीबास्सैका कारण पाउँदै गइन् । अहिले त उनलाई लाग्छ, ‘मेरीबास्सैका कारण नै म अहिलेको अवस्थामा छु ।’
१३ वर्षसम्म मेरीबास्सैमा टिक्नुका पछाडि दर्शकको प्रेम नै प्रमुख कारक तŒव लाग्छ, उनलाई । भन्छिन्, ‘म निर्देशक होइन, कलाकार मात्र हो । त्यही कारण पनि मेरीबास्सैमा टिकेको छु ।’ हुन त कहिलेकाहीँ चित्तदुखाइका घटना नभएका भने होइनन् । चित्त दुखे पनि सहेर काम गरेका कारण अहिलेसम्म आफू रहेको बताउँदै उनी बोलिन्, ‘म र दाह्री बा सहन सक्ने भएका कारण र दर्शकको मायाले पनि टिकेका हौँ ।’
जस्तोसुकै कुरा भए पनि आफूमा सहनशीलता रहेको उनी बताउँछिन् । कहिलेकाहीँ त आफ्नो यो बानी सम्झेर खुसी पनि हुन्छिन् । झनक्क रिस उठ्दा पनि सहेर बस्न सक्ने क्षमता उनमा रहेछ । भन्छिन्, ‘कलाकारिता गर्नु नै छ । नाम र दाम दिएको यही मेरीबास्सैका कारण हो भने सानोतिनो कुरामा किन कम्प्रोमाइज नगर्ने त ! रोल सानो हुँदा पनि खेलिरहेँ । सबैले छाडेर गए, मैले मेरीबास्सै खेलिरहेँ ।’
अर्काइभबाट