
गण्डकी । पोखरा महानगरपालिका-३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् ।
सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकामा ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको हानि भएको किसान आचार्यले जानकारी दिए। निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।
सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए ।
पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ । यसवर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर) को तरबुजा उत्पादन भएको छ । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए।