२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनेपछि ओली र प्रचण्ड अध्यक्ष छन् । वरियता क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो नम्बरमा भएपनि दुबै समान हैसियतका अध्यक्ष थिए। तर मंसिर २०७५ को सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएको थियो ।
त्यसको केही समयपछि सचिवालय बैठक बस्दा ओली र प्रचण्डलाई एउटै लहरको कुर्सी राख्न थालिएको थियो । तर त्यसले निरन्तरता पाएन ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समानान्तर कुर्सीको व्यवस्था गरिएको छ । बैठकमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ लगायत सहभागी छन् ।
यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो । दुई बर्षअघि पार्टी एकीकरण घोषणा हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ‘नेकपा टेम्पो–ट्रयाक्टर होइन, दुई पाइलटले हाँकेको जेट हो।’ तर कोरना भाइरसको संक्रमणसँगै नेकपाका २ अध्यक्षहरुको आसन अलग्गै राखिएको थियो ।
सूर्य थापाले सार्वजनिक गरेका तस्विरमा प्रधानमन्त्री केपी शर्मा ओलीको टेबलमा पानीको लागि थर्मस छ भने अर्का अध्यक्ष पुष्षकमल दाहालको टेबलमा प्लाष्टिकको बोतल राखिएको छ । यसले पनि मतभेद सिर्जना गरेको भन्दै सामाजिक सञ्जालमा कुराकानी सुरु भएको छ ।
साथै अघिल्लो बैठकमा प्रचण्डले कार्यकारी भनिए पनि भूमिका नदिएको गुनासो गरेका थिए ।