म्याग्दी – टिप्ने समय भएको सुन्तला हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसान चिन्तित बनेका छन् । मंगलबार आएको तीव्र हावाहुरीले गाउँपालिकाका वडा नं. २, ३ र ४ अन्तर्गत भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका सुन्तला बगैँचामा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीका कारण बोटमा पाक्न लागेको सुन्तला झर्नुका साथै धेरै बोटका हाँगासमेत भाँचिएका छन् । भुइँमा झरेका अधिकांश सुन्तला फुटेर बिक्री गर्न नमिल्ने भएपछि किसानले वर्षभरि गरेको मेहनत खेर जाने अवस्था आएको छ ।
फगामका किसान दुर्गादत्त सुवेदीका अनुसार गत वर्ष आफ्नो टोलबाट मात्रै २५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । तर, यस वर्ष हावाहुरीले बगैँचामा क्षति पुर्याएपछि एक लाख रुपैयाँको सुन्तला पनि बिक्री गर्न नसकिने अवस्था सिर्जना भएको छ ।
यस वर्ष सुन्तलामा राम्रो फल लागेकाले उत्पादनसँगै आम्दानी बढ्ने आशा गरेका किसान प्राकृतिक विपत्तिका कारण निराश बनेको सुवेदीले बताए ।
अन्नपूर्ण गाउँपालिकाका कृषि शाखा अधिकृत योजना अधिकारीका अनुसार हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । गत वर्ष गाउँपालिकाभित्र करिब चार करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । यस वर्ष तीनवटा वडामा भएको क्षतिका कारण सुन्तला उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ ।
हावाहुरीले सुन्तला खेतीमा मात्र नभई स्थानीय बस्तीका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाका अनुसार काभ्रे, दाना र फगाममा करिब २० घरका छाना उडेका छन् । दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयका झ्याल तथा स्वास्थ्य चौकीको छानामा पनि क्षति पुगेको छ ।
त्यसैगरी, नारच्याङ र भालेबास क्षेत्रमा घर, विद्यालय तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचनामा क्षति पुगेको छ । हावाहुरीले अन्नपूर्ण आधार शिविर र भुसकेट मेलामा पर्यटकका लागि राखिएका १२ वटा टेन्टसमेत उडाएको छ ।
हावाहुरीले रुख ढाल्दा अवरुद्ध भएको सडक तथा विद्युत् सेवा मर्मतपछि बुधबार साँझदेखि सञ्चालनमा आएको भुरुङ्ग–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जनप्रतिनिधि, कर्मचारी र प्राविधिकको टोली परिचालन गरी क्षतिको विवरण सङ्कलन भइरहेको बताए । हावाहुरीबाट घरबारविहीन भएका परिवारको आवास व्यवस्थापन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारसँग आवश्यक पहल गरिने उनले बताए ।