काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदान स्थल पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न आयोगले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
आयोगको अनुरोधअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई परिपत्र जारी गर्दै मतदान स्थल पुनरावलोकनका लागि आवश्यक जानकारी तथा कार्य अघि बढाउन निर्देशन दिएको हो ।
निर्वाचन आयोगअन्तर्गतको ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समिति’ को बैठकले मतदान स्थल पुनरावलोकन गर्ने निर्णय गरेको थियो । निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा रहेको उक्त समितिमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलगायत सम्बन्धित निकायका सचिव सदस्य छन् ।
‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ र ‘कार्यक्रम कार्यान्वयन योजना, २०८३’ अनुसार सबै जिल्लाका मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमार्फत पुनरावलोकनको काम अघि बढाउने निर्णय भएको हो ।
यस कार्यमा आवश्यक सहयोग र सहजीकरणका लागि आयोगले मंसिर ७ गते गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।
निर्वाचन आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका उपसचिव युवराज गुरागाईंको हस्ताक्षरमा पठाइएको पत्रका आधारमा मन्त्रालयले स्थानीय तहसँग समन्वय थालेको हो ।
मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत सुदर्शन दाहालले आयोगको पत्र संलग्न गरी आदेशअनुसार सबै स्थानीय तहलाई परिपत्र गरेका छन् ।