काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नपाएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ ।
समाजका पूर्वअध्यक्ष ठाकुर खनालले विगतमा नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्व भारत भ्रमणमा आउँदा नेपाली दूतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था मिलाउने गरे पनि यसपटक त्यस्तो अवसर नदिइएको बताए । दूतावाससँग पटक–पटक सम्पर्क गर्दा प्रधानमन्त्रीको कार्यक्रममा प्रवासी नेपालीसँग भेटघाट आवश्यक नरहेको जानकारी गराइएको उनको भनाइ छ । प्रवासी नेपालीले आफ्ना समस्या र माग प्रधानमन्त्रीसमक्ष राख्न पाउने परम्परा तोडिएको भन्दै उनले असन्तुष्टि जनाए ।
खनालका अनुसार भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग सम्बन्धित छ । आधार कार्ड नहुँदा बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, सिमकार्ड लिन तथा सरकारी अस्पतालमा उपचार गराउनसमेत कठिनाइ हुने गरेको छ । भारतको व्यवस्थाअनुसार आधार कार्ड बनाउन १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगानासम्बन्धी कागजात आवश्यक पर्ने भए पनि विभिन्न क्षेत्रमा छरिएर रहेका नेपालीलाई ती प्रमाण जुटाउन कठिन हुने उनले बताए । त्यसैले नेपालीका लागि आधार कार्ड प्राप्त गर्ने प्रक्रिया सहज बनाउन नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।
जानकारीको अभावमा कतिपय नेपालीले भारतीय नागरिकता झल्किने दस्तावेज बनाउने गरेको र त्यसकै आधारमा दोहोरो नागरिकताको आरोपमा पक्राउ तथा मुद्दासमेत खेप्नुपरेको खनालले बताए । यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन दुवै देशका सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । भारतमा जन्मिएका तथा हुर्किएका नेपालीका सन्तानले नेपाली भाषा राम्रोसँग बोल्न नसकेको वा भारतमै अध्ययन गरेको आधारमा नेपाली नागरिकता प्राप्त गर्न कठिनाइ भोग्नुपरेको विषय पनि उनले उठाए ।
समाजले भारतमा नेपालीले भोग्दै आएका शैक्षिक, स्वास्थ्य र रोजगारीसम्बन्धी समस्याको समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ। भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीलाई विदेशी नागरिकसरह व्यवहार गरी शैक्षिक संस्था र अस्पतालले अतिरिक्त शुल्क लिने गरेको तथा विद्यार्थीले रोजगारीमा विभेद भोग्नुपरेको समाजको आरोप छ । विद्यार्थीबाट पात्रता प्रमाणपत्र माग्ने प्रवृत्तिको अन्त्य गर्न पनि उसले कूटनीतिक पहल गर्न आग्रह गरेको छ । त्यस्तै, बस तथा रेल यात्राका क्रममा र सीमा नाकामा नेपालीमाथि हुने लुटपाट तथा प्रशासनिक दुर्व्यवहार रोक्न माग गरिएको छ ।
खनालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले नेपालीलाई भारतमा आवागमन, रोजगारी, पेसा, व्यापार तथा सम्पत्ति खरिदबिक्रीमा दिएको सुविधा व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याउँदै आएका प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
यसैगरी, नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र नागरिकका मौलिक अधिकारको संरक्षण हुनुपर्नेमा उनले जोड दिए । बहुमतका आधारमा नागरिकका अधिकार संकुचित गर्न नहुने उल्लेख गर्दै उनले विद्यार्थी, कर्मचारी, शिक्षक तथा पत्रकारका संगठनमाथि हुने हस्तक्षेप र पत्रकारमाथिका आक्रमण रोक्नुपर्ने बताए ।
समाजका उपाध्यक्ष कपिल खनालले पनि आधार कार्डको अभावमा भारतमा रहेका नेपालीले बैंकिङ सेवा, शिक्षा, स्वास्थ्य उपचार, चालक अनुमतिपत्र तथा दुर्घटनाको क्षतिपूर्ति र पेन्सनलगायतका सुविधा प्राप्त गर्न कठिनाइ भोगिरहेको बताए । नेपालीका लागि आधार कार्ड बनाउने प्रक्रिया सहज बनाउन नेपाल सरकारले भारतसँग पहल गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने प्रयास सफल नभए पनि पत्रकारमार्फत प्रवासी नेपालीका समस्या सार्वजनिक गरी सरकारको ध्यानाकर्षण गराउन खोजिएको ठाकुर खनालले बताए ।