काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई स्वच्छ बनाउँदै काठमाडौँलाई सुरक्षित र बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नदी संरक्षण, बाढीको पूर्वसूचना प्रणाली सुदृढीकरण, वायु प्रदूषण नियन्त्रण र सहरी हरियाली प्रवर्द्धनका लागि सङ्घीय सरकारका योजनासमेत सार्वजनिक गरेका छन्।
‘काठमाडौँ जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का सांसदसमेत रहेका श्रेष्ठले आफ्नो बाल्यकालमा बागमती र विष्णुमतीको सफा पानी पिएको, नुहाएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको चिरबिरबीच हुर्किएको स्मरण गरे। तर, आफ्नै जीवनकालमा ती नदी प्रदूषित र सङ्कटग्रस्त बनेको देख्दा दुःख लाग्ने गरेको उनले बताए।
उनका अनुसार अव्यवस्थित सहरीकरण र कङ्क्रिट संरचनाको विस्तारले खेत, पोखरी र खुला जमिन मासिँदा सहरको तापक्रम बढेको छ भने वर्षाको पानी सोस्ने जमिनको अभावले बाढीको जोखिमसमेत बढाएको छ। धुलो र धुवाँका कारण ऐतिहासिक मन्दिर तथा सम्पदासमेत प्रभावित भएको उनले उल्लेख गरे।
जलवायु परिवर्तनले समस्या थप गम्भीर बनाएको बताउँदै श्रेष्ठले ४६ दिनको अवधिमा तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितका बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए। तीव्र सहरीकरण भइरहेका अन्य नगरपालिकालाई काठमाडौँका कमजोरीबाट पाठ सिक्दै नदी, पोखरी र खुला जमिन संरक्षणमा बेलैमा ध्यान दिन उनले आग्रह गरे।
पछिल्ला चार वर्षमा लोप हुने अवस्थामा पुगेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो पुनर्जीवित गरी भूमिगत जलभण्डार संरक्षणमा भूमिका खेलेको भन्दै उनले काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडाध्यक्षहरूको प्रशंसा गरे।
श्रेष्ठले बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली विकास गर्ने सरकारको योजना सुनाए। जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढीको पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन महानगरपालिका तथा अन्य सहरसँग सहकार्य गरिने उनले बताए। यसबाट बाढी आउनुअघि नै वडा र घरपरिवारसम्म सूचना पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ। जोखिमयुक्त हिमचट्टान र पग्लिँदा हिमनदीको अनुगमनमा विज्ञ, वैज्ञानिक, अभियन्ता र युवालाई समेत सहभागी गराइनेछ।
नदी संरक्षणका लागि कङ्क्रिटका पर्खालभित्र थुन्नुको सट्टा नदीलाई प्राकृतिक रूपमा फैलिन र खुम्चिन दिने प्रकृतिमा आधारित योजना अघि बढाइने उनले बताए। विष्णुद्वार र वाग्द्वारका मुहानसँगै नागार्जुन र गोदावरी क्षेत्रको संरक्षण गरिनेछ। यसका लागि जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौँ महानगरपालिका तथा नदी प्रणालीसँग जोडिएका आसपासका १७ नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्ने योजना रहेको उनले जानकारी दिए।
सहरलाई शीतल बनाउने र भूमिगत पानी पुनर्भरण गर्ने कार्यक्रमअन्तर्गत घरघरमा आकाशे पानी सङ्कलन, पानी सोस्ने पैदलमार्ग निर्माण तथा खुला ठाउँ र मुख्य सडक किनारमा रैथाने रूख रोप्न महानगरपालिकाले स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ।
वायु प्रदूषण नियन्त्रणका लागि विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन, स्वच्छ इँटाभट्टा सञ्चालन र फोहोर जलाउने कार्य नियन्त्रणमा जोड दिइने श्रेष्ठले बताए। वायु गुणस्तरसम्बन्धी तथ्याङ्क नागरिकका लागि खुला राख्ने र जाडो तथा तुवाँलो सुरु हुनुअघि नै, अर्थात् अक्टोबरअघि, प्रदूषण नियन्त्रणका तयारी पूरा गर्ने सरकारको योजना छ।
त्यस्तै, फोहोरबाट ऊर्जा उत्पादन र जलवायु वित्त परिचालनलाई पनि प्राथमिकता दिइने उनले बताए। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरपालिकाबीच भएको समझदारीअनुसार टेकु बायोग्यास प्लान्ट छिटो सञ्चालनमा ल्याउन घरबाटै फोहोर वर्गीकरण गर्न उनले आह्वान गरे। जलवायु वित्त शिखर सम्मेलनमार्फत हरित बन्ड र जलवायु कोष भित्र्याउन नगर विकास कोषसँग सहकार्य गरिने उनको भनाइ छ। भोटेकोशी विपद्पछिको पुनर्लाभका लागि छिटो परिचालन गर्न सकिने कोषको आवश्यकता महसुस भएको उनले बताए।
नवीन प्रविधिमा युवाहरूको सक्रियताको प्रशंसा गर्दै श्रेष्ठले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउन सक्ने सञ्चार प्रणाली विकास गरेको उदाहरण प्रस्तुत गरे। युवाको प्रविधिगत ज्ञान र ज्येष्ठ नागरिकसँग रहेको परम्परागत जलप्रणालीसम्बन्धी अनुभवलाई जोडेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
जलवायु न्यायको प्रसङ्गमा उनले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि हिमनदी पग्लिने र बाढीपहिरोको असर नेपालीले भोग्नुपरेको बताए। नदी किनारका बासिन्दासँगै नदी, मुहान, रूख, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान संरक्षण गर्नु नै वास्तविक जलवायु न्याय भएको उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा श्रेष्ठले हरियाली सडक, १५ मिनेटमै पैदल पुग्न सकिने ऐतिहासिक टोल र बहाल, फिर्ता गरिएका चोरीका मूर्ति, साइकल लेन र स्वच्छ बागमती–विष्णुमती करिडोरसहितको काठमाडौँको परिकल्पना प्रस्तुत गरे। पार्कमा ज्येष्ठ नागरिकले ढुक्कले घाम ताप्न र चोकमा बालबालिकाले सुरक्षित रूपमा खेल्न सक्ने वातावरण निर्माण गर्दै हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्र विकास गर्न सबैलाई उनले आह्वान गरे।