काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सहभागी आठ टोलीका कप्तानले फरक–फरक नतिजा र अनुभवसहित प्रतियोगिता सम्पन्न गरेका छन् । कसैले पहिलोपटक टोलीलाई च्याम्पियन बनाए भने कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्याए । केही कप्तानले टोलीलाई प्लेअफसम्म पुर्याउन सफल भए भने केहीका लागि प्रतियोगिता अपेक्षाअनुसार हुन सकेन ।
तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्दा कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका सफल कप्तानका रूपमा देखिए । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि उचालेको हो ।
टोलीलाई च्याम्पियन बनाउने क्रममा ऐरीले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरे । उनले प्रतियोगिताका १० खेलमा २१७ रन बनाउनुका साथै सात विकेटसमेत लिए । कप्तानीसँगै व्यक्तिगत प्रदर्शनमा पनि उत्कृष्ट देखिएका ऐरीका लागि यो संस्करण विशेष रह्यो ।
उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पनि नेतृत्व क्षमताको परिचय दिए । उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्न सफल भयो । रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए । अघिल्लो संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव कायम राखे ।
काठमाडौँ गोर्खाजका कप्तान करण केसीका लागि पनि तेस्रो संस्करण सफल रह्यो । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनाउन सफल भयो । व्यक्तिगत प्रदर्शनतर्फ करणले आठ खेलमा १० विकेट लिनुका साथै ९० रन जोडे ।
चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए । उनको नेतृत्वमा चितवनले प्लेअफसम्मको यात्रा तय गर्यो । तर, व्यक्तिगत प्रदर्शनमा भने रजा अपेक्षाअनुसार चम्किन सकेनन् । उनले पाँच खेलमा ५६ रन बनाउँदा बलिङतर्फ पाँच विकेट लिए ।
कर्णाली याक्सले प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर दक्षिण अफ्रिकाका ब्याटर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइएको थियो ।
सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए । बलिङमा उनले अझ प्रभावशाली प्रदर्शन गर्दै ८.९० को इकोनोमी रेटमा १० विकेट लिए । पहिलोपटक एनपिएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए । यस संस्करणमा उनको सर्वाधिक व्यक्तिगत स्कोर अविजित ९३ रन रह्यो ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद बन्न सकेन । उनको नेतृत्वमा विराटनगरले अपेक्षित प्रदर्शन गर्न नसक्दा प्लेअफमा स्थान बनाउन असफल भयो ।
पोखरा एभेन्जर्सले पनि प्रतियोगिताको बीचमै कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरे पनि खराब प्रदर्शनपछि लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।
कप्तानी परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो । उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाउनुका साथै बलिङमा छ विकेट लिए । नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउँदा चार विकेट हात पारे ।
जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण चुनौतीपूर्ण रह्यो । उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो । यद्यपि, व्यक्तिगत प्रदर्शनमा हरमितले राम्रो प्रभाव छाडे । उनले सात खेलमा ११ विकेट लिनुका साथै ब्याटिङतर्फ ९० रन बनाए ।
यसरी एनपिएलको तेस्रो संस्करणमा कप्तानहरूको प्रदर्शन टोलीको नतिजाअनुसार फरक देखियो । ऐरीले सुदूरपश्चिमलाई ऐतिहासिक उपाधि दिलाउँदा रोहितले लुम्बिनीलाई लगातार दोस्रोपटक फाइनलसम्म पुर्याए । अन्य कप्तानका लागि भने प्लेअफ यात्रा र व्यक्तिगत प्रदर्शन नै मुख्य उपलब्धि बने ।