कञ्चनपुर । परम्परागत रूपमा धान, गहुँलगायत खाद्यान्न बाली खेती गर्दै आएका कञ्चनपुरका किसान पछिल्लो समय उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् । अन्य खाद्यान्न बालीको तुलनामा उखु खेतीबाट बढी आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेका हुन् ।
भीमदत्त नगरपालिका–७ का किसान धनसिंह ठगुन्नाले उखु खेतीबाट राम्रो आम्दानी हुने भएपछि व्यावसायिक रूपमा खेती सुरु गरेको बताए । उनले तीन जनाको साझेदारीमा जग्गा भाडामा लिएर उखु खेती गर्दै आएका छन् ।
“परम्परागत खेतीभन्दा उखु खेतीमा राम्रो प्रतिफल आउने देखिएपछि तीन जना मिलेर जग्गा भाडामा लिएका छौँ । अहिले व्यावसायिक रूपमा अगाडि बढेका छौँ,” उनले भने, “उखु खेतीमा तुलनात्मक रूपमा कम मेहनत र लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ ।”
सुरुमा दुई बिघा जग्गामा उखु खेती गरेका ठगुन्नाले अहिले विस्तार गरेर १२ बिघा क्षेत्रफलमा खेती गरिरहेका छन् । उनका अनुसार उखु उत्पादन भएपछि बजारको समस्या छैन । उत्पादित उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुँदै आएको छ ।
ठगुन्नाले पहिलो सिजनमा सबै खर्च कटाएर प्रतिबिघा करिब एक लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । उखु एकपटक रोपेपछि लगातार तीन सिजनसम्म उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झटसमेत नहुने उनको भनाइ छ ।
“उखु रोपेपछि त्यसको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो वर्ष पनि उत्पादन लिन सकिन्छ । यसले खेतीको लागत घटाउनुका साथै आम्दानी बढाउन सहयोग गर्छ,” उनले भने ।
उनका अनुसार धान र गहुँ खेतीबाट एक बिघामा सबै खर्च कटाएर बढीमा ४० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । तर उखुको राम्रो उत्पादन भए एक बिघाबाट खर्च कटाएर तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।
ठगुन्नाले प्रतिकट्ठा वार्षिक दुई हजार रुपैयाँका दरले जग्गा भाडामा लिएर उखु खेती गरिरहेका छन् । महाकाली सुगर मिलले किसानलाई प्रोत्साहन गर्न उखुको बीउ तथा कीटनाशक औषधिसमेत उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
स्थानीय किसान तारा महरा पनि पछिल्लो तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा संलग्न छन् । परम्परागत खाद्यान्न बालीको तुलनामा उखु खेतीबाट बढी फाइदा हुने भएपछि यसतर्फ आकर्षित भएको उनले बताए ।
“दुई बिघा जग्गामा लगाएको उखु बिक्रीका लागि तयार भएको छ भने १० बिघा जग्गामा अहिले उखुको बीउ रोप्दै छौँ,” उनले भने ।
महराका अनुसार उखु खेतीका कारण स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना भएको छ । उखु रोप्ने, गोडमेल गर्ने तथा कटानी गर्ने समयमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेका छन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन रहेको केन्द्रले जनाएको छ ।