काठमाडौँ – प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा चेकजाँचका क्रममा लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना तथा सोही गाउँपालिकाको अर्को स्थानबाट थप दुई जना पक्राउ परेका छन् ।
त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट दुई जना, धरान उपमहानगरपालिका–८ गैरीगाउँबाट एक जना र दुर्गापथबाट एक जना पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक जना, कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट एक जना, झापाको बिर्तामोड नगरपालिका–८ बाट एक जना तथा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्मारक रोडबाट एक जना पक्राउ परेका छन् ।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट चार जना, ललितपुरको गोदावरी नगरपालिका–८ बागमती पुलनजिकबाट एक जना र मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायतका औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।