काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा परेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको हो ।
बुधबार बिहान ५ देखि ६ बजेसम्मको मापनअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ । उक्त सूचकांकलाई अस्वस्थकर मानिन्छ ।
आईक्यूएयरको सूचीअनुसार पाकिस्तानको लाहोर २७० एक्यूआईसहित विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । त्यस्तै, बंगलादेशको ढाका २१९ एक्यूआईसहित दोस्रो, भारतको कोलकाता १९८ सहित तेस्रो र अफगानिस्तानको काबुल १८४ सहित चौथो स्थानमा छन् ।
यसैगरी भारतको दिल्ली पाँचौँ, इन्डोनेसियाको जकार्ता छैटौँ र पाकिस्तानको कराँची दसौँ स्थानमा रहेका छन् ।
काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेपछि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रदूषित वातावरणमा अनावश्यक बाहिरी गतिविधि कम गर्न र आवश्यक सावधानी अपनाउनुपर्ने जानकारहरूको सुझाव छ ।