काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ। मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात इन्जिनियरलाई सेवाबाट हटाइएको जनाएको हो।
मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख)(१) बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरिएको हो। उक्त निर्णय गत कात्तिक २० गते भएको मन्त्रालयले जनाएको छ।
सेवाबाट हटाइनेमा पुजन न्यौपाने, सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार चार जना इन्जिनियर कार्यालयमा हाजिर नभएको र तीन जना स्वीकृतिबिना बिदामा बसेर अनुपस्थित रहेको कसुरमा कारबाहीमा परेका हुन्।
कार्यालयमा हाजिर नभएको कसुरमा सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य र नरेश थापालाई सेवाबाट हटाइएको छ। त्यस्तै, बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा पुजन न्यौपाने, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ।