राँझा (बाँके) । कुनै समय भारतीय भूमि हुँदै सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाँकेको नरैनापुर क्षेत्रका बासिन्दा अहिले हुलाकी सडक निर्माणपछि आधा घण्टामै नेपालगञ्ज पुग्न सक्ने भएका छन्। सडक सञ्जाल विस्तारसँगै वर्षौंदेखि दुर्गम मानिएका ग्रामीण बस्तीको आवागमन सहज बनेको छ। यसले स्थानीयको यात्रा छोट्याउनुका साथै आर्थिक, व्यावसायिक तथा पर्यटकीय गतिविधिलाई समेत गति दिएको छ।
हुलाकी सडकले राप्ती सोनारी गाउँपालिकाको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग प्रत्यक्ष जोडेको छ। सडक निर्माणपछि राप्ती नदीपारिका बस्तीका बासिन्दाले लामो समयदेखि भोग्दै आएको यातायातको समस्या कम भएको छ।
नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवका अनुसार पहिले नेपालगञ्ज पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। अहिले हुलाकी सडक निर्माण भएपछि यात्रा सहज र छोटो भएको छ।
“पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ।”
उनका अनुसार बाँकेमा राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर तथा नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको यातायात पहुँचमा सुधार आएको हो।
सडकसँगै बढ्दै व्यापार व्यवसाय
हुलाकी सडक निर्माणपछि राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार हुन थालेका छन्। सडक पहुँच सहज भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँसम्म ल्याउन सजिलो भएको छ।
राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरी सडक निर्माणपछि स्थानीयले विकासको अनुभूति गर्न थालेको बताउँछन्। मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसायसमेत विस्तार भइरहेको उनको भनाइ छ।
“हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्। व्यावसायिक कारोबार बढेको छ,” उनले भने, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन्।”
सडकसँगै अन्य पूर्वाधारको विकासले यस क्षेत्रको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको राप्ती सोनारी गाउँपालिका–५, बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्ट बताउँछन्।
धार्मिक तथा पर्यटकीयस्थलमा बढ्यो चहलपहल
हुलाकी सडक निर्माणसँगै राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमन पनि बढेको छ।
बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी, बिनौनास्थित धुमैया उद्यान तथा नवनिर्मित राप्ती पुल अवलोकन गर्न जानेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष चौधरी बताउँछन्।
यसअघि यातायातको सहज पहुँच नहुँदा ओझेलमा परेका स्थानीय धार्मिक तथा पर्यटकीय गन्तव्यमा अहिले पर्यटक पुग्न थालेका छन्। पर्यटकको आवागमन बढेसँगै स्थानीय होटल, पसल तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने सम्भावना पनि बढेको छ।
कोहलपुर हुँदै अगैया पुग्नुभन्दा छोटो मार्ग
नेपालगञ्ज–बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका–६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि यस क्षेत्रमा साना तथा ठूला सवारीसाधनको आवागमन बढेको छ।
नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो मार्ग छोटो पर्ने भएकाले सवारीसाधनले हुलाकी सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन्।
स्थानीय अगुवा जमानसिंह वलीका अनुसार हुलाकी सडकसहित अन्य पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढाएको छ। लामो समयदेखि विकासको पहुँचबाट टाढा रहेका स्थानीय बासिन्दाले अहिले सडक विस्तारसँगै परिवर्तनको अनुभूति गर्न थालेको उनले बताए।
हुलाकी सडकले बाँकेको ग्रामीण क्षेत्रलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने काम मात्र गरेको छैन, स्थानीयको दैनिक जीवनशैली, व्यापार, पर्यटन र सामाजिक सम्बन्धमा समेत परिवर्तन ल्याएको छ। वर्षौंदेखि भौगोलिक विकटताका कारण विकासका अवसरबाट वञ्चित राप्तीपारिका बस्ती सडक पहुँच विस्तारसँगै आर्थिक समृद्धिको नयाँ सम्भावनातर्फ अघि बढ्न थालेका छन्।