धरान । यस वर्ष तिहार केही ढिला परेको र मौसमसमेत अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ। बजारमा फूलको आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ। फूलको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत मिले पनि किसान र व्यापारी भने आर्थिक मारमा परेका छन्। गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागतअनुसारको मूल्य पाउन सकेका छैनन् भने महँगोमा फूल खरिद गरेर बिक्रीका लागि ल्याएका व्यापारीसमेत घाटा व्यहोर्न बाध्य भएका छन्।
तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको कारोबार गर्दै आएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए। किसानबाट प्रतिमुठा ८० रुपैयाँमा खरिद गरेको फूल बजारमा ५० रुपैयाँमा बिक्री गर्नुपरेको उनको भनाइ छ। गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष कारोबार अपेक्षाअनुसार हुन नसकेको उनले बताए।
उनका अनुसार गत वर्ष ठूलो एक बन्डल फूल ७०० रुपैयाँका दरले बिक्री हुने गरेको थियो। त्यतिबेला १० हजार बन्डलसम्म कारोबार भएको थियो। तर, यस वर्ष प्रतिबन्डल ५०० रुपैयाँमा बिक्री गर्नसमेत कठिन भइरहेको छ। उनले धनकुटाको थलथले क्षेत्रका किसानबाट फूल खरिद गरी धरान–१३ स्थित कृषि उपज बजारमा ल्याएर बिक्री गर्दै आएका छन्।
पहिलोपटक ऋण लिएर फूलको व्यापार सुरु गरेका अर्का व्यापारी असिम यादवले पनि यस वर्ष मूल्य घट्दा सुरुमै घाटा व्यहोर्नुपरेको बताए। धनकुटाबाट गुणस्तरीय सयपत्री फूल खरिद गरेर बिक्रीका लागि ल्याए पनि लागत मूल्यसमेत उठाउन कठिन भएको उनको भनाइ छ।
“प्रतिमुठा ७० देखि ८० रुपैयाँसम्ममा खरिद गरेको फूल अहिले ४० देखि ५० रुपैयाँमा बिक्री गर्नुपरेको छ”, उनले भने, “यसरी मूल्य घट्दा लगानीसमेत उठाउन मुस्किल भएको छ।”
धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेका कारण बजार मूल्य घटेको बताए। उनका अनुसार गत वर्ष प्रतिमुठा १०० रुपैयाँसम्म बिक्री भएको फूल यस वर्ष ४० देखि ५० रुपैयाँमै उपलब्ध छ।
त्यस्तै, गत वर्ष प्रतिमाला २०० देखि २५० रुपैयाँसम्म पर्ने फूलमाला यस वर्ष १०० रुपैयाँमै पाउन सकिने अवस्था छ। मूल्य घटेपछि उपभोक्तालाई सहज भए पनि उत्पादनमा लगानी गरेका किसान र व्यापारमा संलग्न व्यवसायी प्रभावित भएको उनले बताए।
व्यवस्थापक भट्टराईका अनुसार तिहारका अवसरमा धरानमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको छ। लक्ष्मीपूजा, कुकुरपूजा, घर तथा पसलको सजावट, ढोका र गेटमा प्रयोग गर्न फूलमालाको माग बढ्ने गर्छ।
धरान कृषि उपज बजारमा धनकुटा, तेह्रथुम, मोरङ, झापालगायत जिल्लाका साथै उत्तरी पहाडी क्षेत्रबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन्। तिहारका बेला यस बजारबाट मात्रै वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीको फूल कारोबार हुने गरेको भट्टराईले जानकारी दिए।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताए। स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधिसमेत बढेको उनको भनाइ छ।
तिहारका बेला फूलको कारोबारसँगै दिदीबहिनीले दाजुभाइलाई दिने उपहार सामग्री, काजु, किसमिस, सुन्तलालगायत फलफूल तथा विभिन्न खाद्य सामग्रीको बिक्री पनि बढेको छ। यस्ता सामग्रीको किनबेचले बजारलाई थप चलायमान बनाएको व्यवसायी बताउँछन्।
स्थानीय फूलको उत्पादन र आपूर्ति बढ्दा उपभोक्ताले सस्तो मूल्यमा फूलमाला पाएका छन्। तर, बजार मूल्यमा आएको गिरावटका कारण किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् भने व्यापारीले पनि अपेक्षित आम्दानी गर्न नसकेको अवस्था छ।