झापा– रोग सङ्क्रमण, विषादीको प्रयोग र बजार व्यवस्थापनको समस्याका कारण झापामा व्यावसायिक मौरीपालन सङ्कटमा परेको छ ।
‘मौरी दिदी’का रूपमा परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घार मौरी रोग सङ्क्रमणका कारण मरेका छन् । अहिले उनको ५० घारमा मात्रै मौरी बाँकी छन् ।
१८ वर्षअघि एक हजार रुपैयाँ लगानी गरेर दुई घार मौरीबाट व्यावसायिक यात्रा सुरु गरेकी दाहालको समूहसँग कुनै समय ९०० घारसम्म मौरी थिए । उनले वार्षिक १० हजार किलोसम्म शुद्ध मह उत्पादन गर्दै आएकी थिइन् ।
मौरीपालन व्यवसायमा गरेको योगदानका लागि राष्ट्रपति पुरस्कारसमेत प्राप्त गरेकी दाहाल पछिल्लो समय रोग सङ्क्रमण र बजारको समस्याका कारण व्यवसायलाई निरन्तरता दिन कठिन भएको बताउँछिन् ।
“रोग सङ्क्रमणले ठूलो क्षति भयो”, उनले भनिन्, “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन ।”
मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्लो समय रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् ।
कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । कनकाई मौरीपालन उद्योगका सञ्चालक अधिकारीले पछिल्लो समय व्यावसायिक मौरीपालनबाट अपेक्षाअनुसारको प्रतिफल पाउन कठिन भएको गुनासो गरे ।
चरनका लागि बाहिरिएका मौरी विषादीका कारण मरेर नफर्किने तथा सरकारी निकायबाट आवश्यक प्रोत्साहन नपाउँदा किसान चिन्तित बनेको उनको भनाइ छ । मौरीपालन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तह तथा प्रदेश सरकारले किसानमैत्री कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
शिवसताक्षी नगरपालिकामा अहिले पनि किसानले दुई हजारभन्दा बढी घारमा मौरीपालन गरी मह उत्पादन गरिरहेको कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए । उनका अनुसार मौरीपालनप्रति किसानको आकर्षण घट्नुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या प्रमुख कारण हुन् ।
शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले वार्षिक दुई हजार किलोसम्म मह उत्पादन गर्दै आएका छन् । खेतबारीमा जथाभाबी विषादी प्रयोग हुँदा मौरीपालन व्यवसाय गम्भीर सङ्कटमा परेको उनको भनाइ छ ।
शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालले किसानले भोगिरहेका समस्या समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग गर्न सके मौरीपालन व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सकिने बताए ।