म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भइसक्यो । करिब तीन दशकसम्म गाईपालन गर्दै आएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन् ।
“थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटा भैँसी पाल्दा सजिलो हुन्छ”, उनले भने, “मिनीटिलर हलोबाट खेतबारी खनजोत गर्न थालेपछि गोरुको आवश्यकता पनि घट्यो । त्यससँगै गाई पाल्ने चलन हराउँदै गएको छ ।”
पुनको अनुभवले धवलागिरि क्षेत्रमा स्थानीय जातका गाईगोरु पाल्ने परम्परा कसरी घट्दै गएको छ भन्ने देखाउँछ । कुनै समय गाउँका अधिकांश घरमा गाईगोरु पाल्ने चलन थियो । तर अहिले स्थानीय जातका गाईगोरु भेट्टाउनै मुस्किल हुन थालेको छ ।
धवलागिरि गाउँपालिका–७ ताकमका मनबहादुर चपाइलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत जुटाउनसमेत कठिन हुन थालेको छ । पूजाआजा तथा धार्मिक संस्कारमा गाईको दूध र गहुँत आवश्यक पर्ने भएकाले गाईपालकलाई पहिले नै खबर गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
“हिजोआज धार्मिक कार्यका लागि चाहिने गाईको दूध र गहुँत पाउन पनि मुस्किल छ”, उनले भने, “गाई देखिन छाडे, गोरु भेटिँदैनन् ।”
धवलागिरि गाउँपालिका–६ को साविक मराङ र वडा नं ७ को साविक ताकम गाविस क्षेत्रमा स्थानीय जातका गाईगोरुको सङ्ख्या घट्दै गएको छ । गुर्जा, लुलाङ, मुना, मुदी र मल्कवाङ क्षेत्रमा घुम्ती गोठको सङ्ख्या पनि घटेको छ । यद्यपि केही स्थानमा गाईगोरु पाल्ने परम्परा अझै कायम छ ।
धार्मिक, सांस्कृतिक, जैविक तथा पर्यावरणीय महत्त्व बोकेका स्थानीय जातका गाईगोरु आधुनिक कृषि प्रविधि, व्यावसायिक पशुपालन र जनशक्ति अभावका कारण सङ्कटमा पर्दै गएका हुन् । उत्पादन लागत घटाउने र आम्दानी बढाउने उद्देश्यले किसान उन्नत तथा वर्णशङ्कर जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदा रैथाने जातका गाईगोरुको महत्त्व घट्दै गएको छ ।
धवलागिरि गाउँपालिका–७ का इन्द्रलाल पौडेलका अनुसार बढी दूध दिने उन्नत जातका गाईभैँसी पाल्ने क्रम बढ्नु र खेतबारी खनजोतमा ट्याक्टर तथा मिनीटिलरको प्रयोग हुनुले स्थानीय गाईगोरु विस्थापित हुँदै गएका हुन् ।
“मिनीटिलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ”, उनले भने, “सरकारले पनि बढी दूध दिने गाईभैँसीपालनमा जोड दिएकाले उन्नत र वर्णशङ्कर जातका पशुपालन बढेको छ ।”
कुनै समय धवलागिरि गाउँपालिका हलगोरुको प्रमुख स्रोत केन्द्रका रूपमा परिचित थियो । खेतबारी खनजोत गर्न आधुनिक उपकरण नहुँदा बेनी नगरपालिका, पर्वत, स्याङ्जा र कास्कीसम्मका किसान यहाँबाट हलगोरु खरिद गर्न आउने गर्थे । गोरु बिक्री गरेर स्थानीय किसानले राम्रो आम्दानीसमेत गर्दै आएका थिए । तर अहिले गाईगोरुको माग र बिक्री दुवै घटेको धवलागिरि गाउँपालिका–१ गुर्जाका तमप्रसाद छन्त्याल बताउँछन् ।
आठ वर्षमा दुई हजार ३४५ गाईगोरु घटे
धवलागिरि गाउँपालिकाको पशुपन्छीसम्बन्धी तथ्याङ्कले पनि स्थानीय जातका गाईगोरुको सङ्ख्या घट्दै गएको देखाउँछ । पछिल्लो आठ वर्षमा गाउँपालिकामा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ ।
विसं २०७४ मा गरिएको सर्वेक्षणअनुसार धवलागिरिमा छ हजार ७५६ गाईगोरु थिए । हाल यो सङ्ख्या घटेर चार हजार ४११ मा सीमित भएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख चन्द्रकला दाहालले बताइन् ।
उनका अनुसार नयाँ पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु र पशुपालनमा बढी श्रम खर्चिनुपर्ने अवस्थाका कारण स्थानीय जातका गाईगोरु तथा घुम्ती गोठप्रतिको आकर्षण घटेको हो ।
“पशुपालनमा जीविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भए पनि यसमा धेरै मिहिनेत गर्नुपर्छ”, उनले भनिन्, “नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा घुम्ती गोठसँगै स्थानीय जातका गाईगोरु पनि सङ्कटमा परेका छन् ।”
जैविक सम्पत्तिका रूपमा स्थानीय गाई
कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको अभिलेखअनुसार नेपालमा पाइने आठ प्रजातिका गाईमध्ये म्याग्दीलगायत पहाडी जिल्लामा पालिने गाईलाई पहाडी जातका रूपमा चिनिन्छ । यी गाई भुटान, सिक्किम र दार्जिलिङबाट नेपाल भित्रिएको उल्लेख छ ।
सामान्यतया २०० देखि ३०० किलोग्रामसम्म तौल हुने पहाडी जातका गाई कालो, रातो, फुस्रो र टाटेपाटे रङका हुन्छन् । स्थानीय हावापानी र वातावरणमा सहजै अनुकूलित हुन सक्ने यी गाईको आफ्नै जैविक विशेषता रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले बताए ।
उनका अनुसार गाईको दूधमा पाइने क्यारोटिन तत्व मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्त्वसँगै आयुर्वेदिक अभ्यासमा पनि उपयोग हुँदै आएको उनले बताए ।
“गाईको दूध सेवनबाट स्वास्थ्यलाई विभिन्न फाइदा पुग्ने र रोगबाट बच्न सहयोग गर्ने विषय विभिन्न वैज्ञानिक अध्ययनमा उल्लेख छन्”, रेग्मीले भने ।
धार्मिक तथा सांस्कृतिक महत्त्व
नेपालको संविधानको धारा ९ को उपधारा (३) मा गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरिएको छ । हिन्दु धर्मावलम्बीले गाईलाई धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडेर हेर्ने गरेका छन् । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा गाईको महत्त्व रहने गरेको छ ।
बेनी नगरपालिका–१ स्थित श्रीलक्ष्मीहरि मन्दिरका महन्थ हिमालय बाबाले गाईलाई धर्म र संस्कृतिसँग मात्र नभई जैविक सम्पत्तिका रूपमा पनि संरक्षण गर्नुपर्ने बताए ।
“गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुँदैन”, उनले भने, “जैविक विशेषता बोकेका वैदिक गाईको नश्ल नेपालको जैविक सम्पत्ति हो । यसको संरक्षणमा राज्य र समाजले विशेष ध्यान दिनुपर्छ ।”
उनका अनुसार स्थानीय जातका गाईबाट प्राप्त हुने गोबर र गहुँत खेतीपातीमा प्रयोग हुनुका साथै परम्परागत आयुर्वेदिक अभ्यासमा पनि उपयोग हुँदै आएको छ । हिन्दु धर्मावलम्बीले गाईलाई लक्ष्मीका रूपमा पूजा गर्ने र यसको संरक्षणलाई पुण्य कार्यका रूपमा लिने परम्परा छ । धार्मिक संस्कारमा दूध, दही, घ्यू, गोबर र गहुँतको प्रयोग हुने भएकाले स्थानीय जातका गाईको संरक्षण धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरतासँग पनि जोडिएको छ ।
स्थानीय हावापानीमा अनुकूलित रैथाने गाईगोरुको संरक्षणका लागि प्रजनन व्यवस्थापन, किसानलाई प्रोत्साहन र स्थानीय जातको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
धवलागिरिको पहिचानसँग जोडिएको स्थानीय गाईगोरुपालनलाई व्यावसायिक र व्यवस्थित बनाउन सके स्थानीयको जीविकोपार्जन सुधार गर्नुका साथै आयआर्जनको राम्रो आधार बनाउन सकिने उनको भनाइ छ ।