अछाम । अछाम र डोटी जिल्लालाई जोड्ने अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेबल पुल निर्माणको काम सम्झौता भएको १६ महिना बितिसक्दा पनि अघि बढ्न सकेको छैन ।
पूर्वाधार विकास कार्यालय साँफेबगरले चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लामो पुल निर्माणका लागि कैलालीको धनगढीस्थित एसएसएनएससीपीसीएस–एसी जेभीसँग सम्झौता गरेको थियो ।
पुल निर्माणका लागि सडक खन्ने क्रममा डोजरले माथिल्लो भागबाट ढुङ्गा खसालेपछि गण्डीगाडमा रहेको झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको थियो । मोटरेबल पुल निर्माण नहुँदा र झोलुङ्गे पुलसमेत जीर्ण बनेपछि स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले पूर्वाधार विकास कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि निर्माण कार्य अघि बढाउन चासो नदेखाएको बताउनुभयो । नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उहाँको भनाइ छ ।
मोटरेबल पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ असार २२ गते रु पाँच करोड २१ लाखमा सम्झौता भएको थियो ।
पुल निर्माण नहुँदा बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भइरहेको स्थानीय ध्रुव साउदले बताउनुभयो । अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न जाने विद्यार्थीसमेत यही जीर्ण झोलुङ्गे पुल प्रयोग गरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
“मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठीक छैन”, उहाँले भन्नुभयो ।
पूर्वाधार विकास कार्यालय साँफेबगरका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले निर्माण कार्य अघि बढाउन सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गरिसकिएको जानकारी दिनुभयो ।
रासस