काठमाडौँ – ओमानमा जारी एसिसी यू–१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमरात क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपाल आज यूएईलाई पराजित गर्दै पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो । यता यूएईले पनि पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटको हार व्यहोरेको थियो । त्यसैले दुवै टोली आज पहिलो जित निकाल्ने योजनामा छन् ।
यूएईविरुद्धको पछिल्लो पाँच भेटमध्ये नेपालले चार खेलमा जित हात पारेको छ । नेपाल र यूएईबीच पछिल्लोपटक सन् २०१९ मा एसिया कपमा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपालले यूएईलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाल आज पनि विगतको त्यही प्रदर्शन दोहोर्याउने लक्ष्यमा छ ।