काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार विकास र आर्थिक सुधारका लागि सरकार आफैँ नेतृत्वदायी भूमिकामा अघि बढ्ने बताएका छन्। उनले पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार ‘ड्राइभिङ सिट’ मा बसेर अभियान अघि बढाउन लागेको बताए।
बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै वाग्लेले यसपटकको सम्मेलन विगतका संस्करणभन्दा फरक रहेको उल्लेख गरे। यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) को नेतृत्वमा आयोजना हुँदै आएको सम्मेलनमा यसपटक सरकार मूल सहआयोजकका रूपमा सहभागी भएको उनले बताए।
सरकारी बजेटले मात्रै मुलुकको पूर्वाधार विकासको आवश्यकता पूरा गर्न नसक्ने भन्दै उनले निजी क्षेत्रको पुँजी र लगानी परिचालन गर्नुपर्नेमा जोड दिए। सरकारको २१ खर्ब रुपैयाँको बजेटले पूर्वाधार विकासको ठूलो आकाङ्क्षा पूरा गर्न नसक्ने उल्लेख गर्दै उनले अर्थतन्त्रको आकार र सम्भावनाअनुसार निजी क्षेत्रको लगानीसमेत परिचालन गर्नुपर्ने बताए।
वाग्लेले सम्मेलनलाई छलफल र प्रतिबद्धतामा मात्रै सीमित नराखी ठोस उपलब्धि हासिल गर्ने उद्देश्य राखिएको बताए। त्यसको प्रमुख उपलब्धिका रूपमा पूर्वाधार विकास, लगानी र आर्थिक सुधारसँग सम्बन्धित ५९ वटा ऐनका झन्डै ५०० दफा संशोधन गर्ने तयारीलाई उनले प्रस्तुत गरे। प्रस्तावित संशोधनलाई ‘ओम्निबस लेजिस्लेसन’ अर्थात् एकमुष्ट कानुनी सुधारको प्रयासका रूपमा व्याख्या गर्दै उनले अध्यादेश वा संसद्बाट पारित ऐनमार्फत कार्यान्वयनमा ल्याउन सकिने बताए। यसबाट लगानी र पूर्वाधार विकासमा देखिएका कानुनी अवरोध हट्ने उनको विश्वास छ।
सम्मेलनको तयारीमा प्रधानमन्त्रीको प्रत्यक्ष चासो र निर्देशन रहेको पनि वाग्लेले बताए। विगतमा मन्त्रालयहरूबीच समन्वयको अभाव र अधिकार क्षेत्रको विवाद देखिने गरे पनि अहिले त्यस्तो अवस्था नरहेको उनको दाबी छ। भौतिक पूर्वाधार, सहरी विकास तथा खानेपानी क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउँदा समन्वय सहज भएको उनले उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले सरकारका तीन प्रमुख प्राथमिकता सुशासनमा सुधार, आर्थिक क्षेत्रमा नीतिगत परिवर्तन र पूर्वाधार विकासमा लगानी विस्तार रहेको बताए। विगतमा देखिएका भ्रष्टाचार र कुशासनका समस्या सुधार गर्न सरकार अघि बढिरहेको दाबी गर्दै उनले नियुक्ति तथा निर्णय प्रक्रियामा सुशासनलाई प्राथमिकता दिइएको उल्लेख गरे।
सरकारले आगामी साढे चार वर्षसम्म सुशासन र सुधारको गति कायम राख्ने लक्ष्य लिएको पनि उनले बताए।