जनकपुरधाम, जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैक्रममा सम्भाव्यता र प्राविधिक अवस्था परीक्षणका लागि १७ बोगीको भारतीय रेल सञ्चालन गरिएको छ।
नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बताए। उनका अनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षण अघि बढाइएको हो।
रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक परीक्षण र अन्य प्रक्रिया भने पूरा भइसकेका छैनन्। ती प्रक्रिया सम्पन्न भएपछि सेवा सञ्चालनको थप प्रक्रिया अघि बढाइने पराजुलीले बताए।
प्रस्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ। त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेसनबाट यात्रु चढाएर अयोध्यासम्म पुर्याउने योजना छ।
जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिने धार्मिक मान्यताका कारण यी दुई सहरबीच रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, सेवा सञ्चालनको मिति र नियमित रेल चल्ने समय प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा भएपछि मात्रै टुंगो लाग्नेछ।