भक्तपुर । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरिरहे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।
भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको गुनासो गरिन् । यसअघि आधा भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर प्राप्त गर्न नसकेको बताइन् ।
बजारमा ग्यासको आपूर्ति सहज भएको प्रचार भइरहे पनि आफूले भने अहिलेसम्म ग्यास पाउन नसकेको उनको भनाइ छ । ग्यासका लागि डिलरदेखि खुद्रा पसलसम्म धाउँदा पनि रित्तो हात फर्किनुपरेको उनले सुनाइन् ।
“अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म पुग्दा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ”, उनले भनिन्, “बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?”
आफूसँग भएको सिलिन्डरको ग्यास सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उनले बताइन् । थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्यास लिन खोज्दा बिक्रेताबाट सहयोग नपाएको उनको गुनासो छ ।
सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोगिरहेका छन् । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय बितिसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताए ।
“ग्यास पसलका साहुजीलाई जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्नुहुन्छ । महिनौँ बितिसक्यो, तर अहिलेसम्म पाएको छैन”, उनले भने, “हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौँ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ?”
सरकारी निकाय र सामाजिक सञ्जालमा ग्यासको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि वास्तविक उपभोक्ताले भने ग्यास पाउन नसकेको उनको भनाइ छ । बजारमा ग्यास आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने प्रश्न उनले उठाए ।
ग्यास अभावका कारण दैनिक घरायसी कामकाजसमेत प्रभावित भएको छ । खाना पकाउन ग्यासमा निर्भर परिवारले समयमै खाना तयार गर्न नसक्ने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता भोगिरहेका छन् । विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि अर्को सिलिन्डर जुटाउन कठिन भएको छ ।
यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरेका छन् । कुनै एउटा कम्पनीको ग्यास उपलब्ध नभए अर्को कम्पनीको डिलरमा गएर सिलिन्डर साट्न सकिने व्यवस्था रहेको उनले बताए ।
उनका अनुसार दसैँअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको थियो । दसैँपछि ग्यासको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उनले जानकारी दिए ।
प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताको गुनासो भने हट्न सकेको छैन । प्रशासनको दाबी र बजारमा उपभोक्ताले भोगिरहेको अवस्थाबीच देखिएको अन्तरले ग्यास वितरण प्रणालीमाथि प्रश्न उठाएको छ ।
बजारमा पर्याप्त ग्यास उपलब्ध रहेको भए पनि उपभोक्ताले किन सहज रूपमा पाउन सकेका छैनन् भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । वितरणको अवस्था, डिलरमा ग्यास आउने समय र उपलब्धताबारे प्रभावकारी सूचना सार्वजनिक नहुँदा उपभोक्ता थप अन्योलमा परेका छन् ।