काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। भेटवार्तापछि मिश्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीका लागि मिश्री बुधबार बिहान काठमाडौं आइपुगेका थिए। काठमाडौं ओर्लिएलगत्तै उनी उच्चस्तरीय भेटघाटमा व्यस्त भएका थिए।
भ्रमणका क्रममा उनले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
आज प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
केही महिनाअघि प्रधानमन्त्री शाहसँग भेटघाटको समय नमिलेपछि मिश्रीले तय भइसकेको नेपाल भ्रमण स्थगित गरेका थिए। त्यसैले यसपटकको उनको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग हुने भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ।
नेपाल र भारतका अधिकारीहरू प्रधानमन्त्री शाहको मंसिर दोस्रो साताका लागि प्रस्तावित भारत भ्रमणको तयारीमा जुटेका छन्। यही तयारीका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका थिए।
यसअघि कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार भेटघाटका क्रममा नेपाली प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकिएको जानकारी दिएका थिए।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ। भारतीय विदेश सचिव मिश्रीको भ्रमण सम्पन्न भएपछि भ्रमणको मिति घोषणा हुन सक्ने अपेक्षा गरिएको छ।