काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकको समयमै उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएकी छन्।
बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताइन्।
भण्डारीले नेपालका प्राकृतिक स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमार्फत रोजगारी सिर्जना तथा आर्थिक विकास गर्नुपर्नेमा जोड दिइन्। जलवायु परिवर्तन र प्राकृतिक विपद्को बढ्दो जोखिमलाई ध्यानमा राख्दै जलविद्युत्, कृषि तथा खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार र खनिजमा आधारित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ थियो।
वातावरणमैत्री पर्यटनको विस्तारबाट आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै उनले यसका लागि स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने बताइन्। प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहन गर्नुपर्ने उनले बताइन्।
त्यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्।
भण्डारीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको उल्लेख गरिन्। देश र जनताको हितमा पार्टीले गरेका काम तथा उपलब्धिलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।