चन्दा क्षेत्री/किर्तिपुर। अन्तिम ओभरमा १३ रन जोगाउनुपर्ने चुनौती थियो। क्रिजमा जमिसकेका दुई ब्याटर थिए। दबाब विपक्षी बलरमाथि थियो। तर आन्द्रे रसेलले आफ्नो अनुभव र क्षमतामाथि भरोसा गरे। अन्तिम बलमा ब्याटरले अपेक्षा नगरेको सर्ट बल फाले। रणनीति सफल भयो। विराटनगर किंग्सले खेल जित्यो र रसेलले आफ्नो अलराउन्ड प्रदर्शनबाट फेरि एकपटक आफू किन विश्व क्रिकेटका प्रभावशाली खेलाडी हुन् भन्ने प्रमाणित गरे।
वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर रसेलका लागि क्रिकेट केवल शक्ति प्रदर्शन होइन, परिस्थिति बुझ्ने र त्यसअनुसार आफूलाई ढाल्ने कला पनि हो। अन्तिम ओभरको दबाब होस् वा ब्याटिङमा रनको आवश्यकता, उनी आफ्नो अनुभव र सीपमाथि विश्वास गर्न रुचाउँछन्।
‘१९औँ ओभर सुरु हुनुअघि मैले आफैँलाई भनेको थिएँ, यदि मैले १० रन मात्रै जोगाउन पाएँ भने पनि आफ्नो सीप र क्षमतामाथि विश्वास गरेर त्यसलाई रोक्न सक्छु।’
रसेलका लागि अन्तिम बल केही नर्भस हुने क्षण थियो। तर त्यो डरभन्दा उत्साह बढी भएको उनी बताउँछन्। ब्याटरलाई लक्षित गर्दै ब्याटबाट टाढा जाने गरी सर्ट बल फाल्ने उनको योजना सफल भयो। क्रिकेटमा एउटै रणनीति सधैँ सफल नहुने उनी स्वीकार्छन्।
‘आज सफल भएकोमा खुसी छु, तर अर्को खेलमा पनि यही रणनीति सफल हुन्छ भन्ने ग्यारेन्टी छैन,’ उनी भन्छन्।
नेपाली क्रिकेटमा देखेको सम्भावना
एनपीएल खेल्ने क्रममा रसेलले नेपाली क्रिकेटलाई नजिकबाट नियाल्ने अवसर पाएका छन्। उनको नजरमा नेपालमा प्रतिभाशाली खेलाडीको कमी छैन। राष्ट्रिय टोलीमा रहेका खेलाडी मात्रै होइन, राष्ट्रिय टोलीको ढोका ढकढक्याइरहेका खेलाडीले पनि आफ्नो क्षमताको प्रमाण दिइरहेका छन्।
एनपीएलमा देखेको प्रदर्शनका आधारमा नेपाली टोलीका छनोटकर्तालाई खेलाडी छनोट गर्न कठिन हुने उनको बुझाइ छ। राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने क्षमता भएका १५ देखि २० जनाभन्दा बढी खेलाडी आफूले देखेको उनी बताउँछन्।
‘नेपालमा धेरै प्रतिभा देखिरहेको छु। आगामी केही वर्षमा नेपालले विश्वका ठूला टोलीलाई हराउनेछ भन्ने मलाई विश्वास छ।’
नेपालले वेस्ट इन्डिजलाई हराउन सक्ने र विश्व क्रिकेटका अन्य बलिया टोलीलाई चुनौती दिन सक्ने आधार आफूले बुझ्न थालेको रसेलको भनाइ छ। त्यसका लागि खेलाडीले सही मार्गदर्शन पाउनुपर्ने, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहनुपर्ने र शालीन हुनुपर्ने उनी बताउँछन्।
नेपाली पिचमा ब्याटिङ गर्नु पनि उनका लागि फरक अनुभव होइन। क्यारेबियन क्षेत्रका केही पिचसँग यहाँको प्रकृति मिल्ने उनी बताउँछन्। तर नेपाल आएर छक्का मात्रै हान्ने सोच राख्नु गलत हुने उनको धारणा छ।
‘यहाँ रन बनाउन सजिलो छैन। बल घुम्ने, कम उचाइमा आउने र कहिलेकाहीँ अप्रत्याशित व्यवहार देखाउने चुनौती छन्। यहाँका खेलाडी राम्रा छन् र उनीहरूले कडा चुनौती दिन्छन्।’
विश्वका विभिन्न लिग र प्रतियोगितामा दुई दशकभन्दा बढी समय बिताएको अनुभवले आफूलाई फरक पिच र वातावरणमा अनुकूल बनाउन सहयोग गरेको रसेल बताउँछन्। त्यसैले ब्याटिङमा जाँदा उनी सुरुमा पिच र बलिङको प्रकृति बुझ्न प्रयास गर्छन्।
सन्दीपदेखि लोकेशसम्म, मैदानबाहिर पनि आत्मीयता
रसेलको एनपीएल अनुभव खेल र प्रदर्शनमा मात्रै सीमित छैन। नेपाली खेलाडीसँगको उनको सम्बन्ध पनि उत्तिकै आत्मीय बनेको छ। विशेषगरी सन्दीप लामिछानेसँगको सम्बन्ध आईपीएलदेखि नै सुरु भएको उनी बताउँछन्।
सन्दीपलाई पहिलोपटक भेटेदेखि नै उनीहरूबीच हाँसोठट्टा र मित्रता रहँदै आएको छ। नेपाल आएपछि यहाँका मानिसको मिलनसार स्वभाव बुझ्न पाएको र त्यसले नेपाली खेलाडीसँग घुलमिल हुन सहज बनाएको उनको अनुभव छ।
टोलीको ड्रेसिङ रुममा हुने हाँसोठट्टाले खेलाडीबीचको सम्बन्ध अझ बलियो बनाएको उनी बताउँछन्।
‘यो मेरो करिअरमा देखेका सबैभन्दा खुसी र रमाइलो वातावरण भएका ड्रेसिङ रुममध्ये एक हो।’
विश्वभर सयौँ खेलाडीसँग खेलिसकेका रसेलका लागि नेपाली टोलीको वातावरण विशेष बनेको छ। आफूलाई ठूलो स्टारका रूपमा प्रस्तुत गर्न वा अरूभन्दा माथि राख्न नचाहने उनी बताउँछन्। मैदानभित्र मात्रै होइन, बाहिर पनि खेलाडीसँग रमाइलो गर्न रुचाउने उनको स्वभाव छ।
नेपाली खेलाडी लोकेशसँग पनि उनको राम्रो सम्बन्ध बनेको छ। पहिलो भेटमा लोकेश केही छिटो आवेशमा आउने स्वभावका लागेको स्मरण गर्दै रसेलले उनलाई सकारात्मक सन्देश दिएको बताए।
लोकेशसँग ब्याटिङको सुरुआत कसरी राम्रो बनाउने, अवसरको सदुपयोग कसरी गर्ने र ब्याटिङमा जमिसकेपछि विकेट जोगाउनुको महत्त्वबारे छलफल गरेको उनले सुनाए।
लोकेशको ब्याटिङमा सुधार देखिरहेको र उनी धेरै रन बनाउन उत्सुक रहेको रसेल बताउँछन्। अहिले उनलाई राष्ट्रिय टोलीको क्याप लगाएको देख्दा खुसी लागेको उनको भनाइ छ।
पाँच वर्षदेखिको सपना, अब १२ हजार रनको लक्ष्य
रसेलको क्रिकेट यात्रा उपलब्धि र चुनौती दुवैको कथा हो। टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्ने लक्ष्य उनले पाँच वर्षअघि नै बनाएका थिए। तीव्र गतिका बलिङ अलराउन्डरका रूपमा १० हजार रन र ५०० भन्दा बढी विकेटको उपलब्धि हासिल गर्ने उनको सपना थियो।
त्यो लक्ष्यसम्म पुग्न सहज थिएन। चोटसँग जुध्नुपर्यो, शल्यक्रियापछि पुनरागमन गर्नुपर्यो र हरेकपटक पहिलेभन्दा बलियो भएर फर्किनुपर्ने चुनौती सामना गर्नुपर्यो।
पाँच वर्षअघि तय गरेको लक्ष्य पूरा गर्दा निकै खुसी लागेको उनी बताउँछन्। तर उनको महत्त्वाकांक्षा त्यतिमै सीमित छैन।
‘आज ५० भन्दा बढी रन बनाएपछि अब १२ हजार रनसम्म पुग्न सकिन्छ भन्ने सोच आएको छ।’
आगामी पुस्ताका तीव्र गतिका बलिङ अलराउन्डरका लागि अझ उच्च लक्ष्य स्थापित गर्न चाहेको रसेल बताउँछन्। उनको विचारमा अब १२ हजार रनको लक्ष्य पूरा गर्ने खेलाडी असाधारण प्रतिभाशाली हुनुपर्नेछ।
नेपालले जित्न नसकेको खेलको पीडा पनि बुझ्छन्
एनपीएलमा विपक्षी टोलीका सैफ हसनको ब्याटिङबाट रसेल प्रभावित भएका छन्। अन्तिम ओभरमा बलिङ गर्दा आफू दबाबमा परेको उनी स्वीकार्छन्।
नयाँ प्रतियोगितामा विपक्षी खेलाडीबारे पर्याप्त जानकारी नहुँदा पनि तत्काल निर्णय लिनुपर्ने चुनौती हुने उनको अनुभव छ। सैफ हसनले गरेको प्रदर्शनको प्रशंसा गर्दै उनले नजिक पुगेर पनि खेल जित्न नसक्नु कति पीडादायी हुन्छ भन्ने आफूले पनि धेरैपटक भोगेको बताए।
हिमालको दृश्यले मोहित
क्रिकेटबाहेक नेपालको प्राकृतिक सुन्दरता र यहाँका मानिसको आत्मीयताले पनि रसेललाई प्रभावित पारेको छ। आफू बसेको कोठाबाट हिमाल र सगरमाथा देख्न पाउनु उनका लागि विशेष अनुभव बनेको छ।
सानैदेखि संसारको सर्वोच्च शिखर सगरमाथाबारे सुन्दै आएको बताउने रसेल बिहान उठ्दा आफ्नै आँखाअगाडि हिमाल देख्न पाउँदा अचम्मित छन्।
‘सानो छँदादेखि नै संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाबारे सुन्दै आएको थिएँ। अहिले बिहान उठ्दा त्यस्तो दृश्य देख्न पाउनु अविश्वसनीय अनुभव हो।’
नेपालको सुन्दरता, सफा वातावरण, राम्रो मौसम र मिलनसार मानिसले आफ्नो बसाइलाई सुखद बनाएको उनी बताउँछन्।
नेपालमा आफ्नो खेल यात्रा अझै नसकिएको रसेलको भनाइ छ। एउटा खेल बाँकी रहेको बताउँदै उनले तत्काल घर नफर्किने सुनाए।
नेपालको क्रिकेटमा सम्भावना देखेका रसेलका लागि एनपीएल केवल अर्को फ्रेन्चाइज प्रतियोगिता होइन, नेपाली क्रिकेटको क्षमता नजिकबाट बुझ्ने अवसर पनि बनेको छ। नेपाली खेलाडीमा देखेको प्रतिभा र यहाँको क्रिकेट वातावरणप्रतिको उनको विश्वासले एउटा सन्देश दिएको छ—नेपालले विश्व क्रिकेटमा अझ ठूलो चुनौती दिन सक्ने आधार बनाउँदै छ।