काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
विराटनगरले यसअघि खेलेका तीनमध्ये एक खेलमा मात्रै जित निकालेको छ। टोली आज चौथो खेलमा मैदान उत्रिँदा दोस्रो जितको खोजीमा हुनेछ। यता जनकपुर बोल्ट्सले पनि तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ।
आजको दोस्रो खेलमा साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण अर्को खेलबाट दुवै टोलीले एक–एक अंक बाँडेका थिए।
यता पोखरा एभेन्जर्सले भने यसअघिका दुवै खेलमा हार बेहोरेको छ। पोखरा आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ।