काठमाडौं। जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले राजदूतका लागि दिएको नाम फिर्ता लिएको जानकारी गराएका हुन्।
श्रेष्ठका अनुसार थापाले आफूविरुद्ध स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्न उठेपछि नाम फिर्ता लिने निर्णय गरेको जानकारी समितिलाई दिएका थिए।
थापाको व्यक्तिगत तथा व्यावसायिक प्रोफाइल राम्रो भए पनि स्वार्थको द्वन्द्वको विषय उठेकाले नाम फिर्ता लिनुपरेको श्रेष्ठले बताए। कानुनी रूपमा राजदूत बन्न कुनै बाधा नरहे पनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको थापाले जानकारी दिएको उनले बताए।
थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेको विषयमा संसदीय सुनुवाइ समितिका सदस्यहरूले प्रश्न उठाएका थिए।