काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवर्द्धन तथा व्यावसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए।
मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानसहित विभिन्न देशका व्यवसायी सहभागी हुनेछन्। स्वदेशी तथा विदेशी हस्तकला, कृषि उत्पादन, पर्यटन, सूचना प्रविधि, ऊर्जा, भवन तथा निर्माण सामग्री, व्यावसायिक सूचना र शिक्षासम्बन्धी वस्तु तथा सेवाका २०० भन्दा बढी स्टल राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
मेलामा स्वदेशी तथा विदेशी गरी करिब एक लाख अवलोकनकर्ता सहभागी हुने महासंघको अपेक्षा छ। देशका विभिन्न जिल्लामा आयोजना भएका व्यापार मेलाका उत्कृष्ट स्टल तथा उत्पादनलाई यस मेलामा निःशुल्क स्टल उपलब्ध गराइने पनि श्रेष्ठले बताए।
उनका अनुसार मेलाले सुस्त बजारमा नयाँ व्यापारिक गतिविधि र आर्थिक ऊर्जा सिर्जना गर्नुका साथै उत्पादक, क्रेता, विक्रेता, आयातकर्ता तथा निर्यातकर्ताबीच प्रत्यक्ष सम्पर्क र कारोबारको अवसर प्रदान गर्नेछ। यसबाट व्यापार विविधीकरण, स्वदेशी उत्पादनको बजार विस्तार र साना, मझौला तथा घरेलु उद्योगका उत्पादनलाई नयाँ उपभोक्तामाझ पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महासंघले नेपाल व्यापार एकीकरण रणनीतिमा प्राथमिकता दिइएका वस्तुको उत्पादन तथा निर्यात प्रवर्द्धनमा समेत मेलाले योगदान पुर्याउने विश्वास गरेको छ। साथै, अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षित गर्दै रोजगारी सिर्जना र मुलुकको समग्र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।