पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्।
पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै थापाले विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदाताको गुनासो सुन्न र उनीहरूको विश्वास पुनः जित्न घरदैलोमै पुग्नुपर्ने बताएका हुन्।
मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उनले उनीहरूलाई दोष दिनुभन्दा असन्तुष्टिको कारण बुझेर प्रश्नको जवाफ दिन र गुनासा सम्बोधन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टी नयाँ सोच र सङ्कल्पसहित अघि बढेको भन्दै उनले विगतका उपलब्धिको चर्चा मात्र नगरी वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने बताए।
थापाले पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय गर्दै सबै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए। नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान तथा पुराना पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उनले दुवैको क्षमता उपयोग गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताए।
आगामी स्थानीय तह निर्वाचनमा महिला, सबै जातजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो। उम्मेदवार छनोटमा स्थानीय पार्टी सदस्यलाई निर्णायक भूमिका दिनुपर्ने उल्लेख गर्दै थापाले पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै पार्टी सदस्यले तथा स्याङ्जा र तनहुँका उम्मेदवार सम्बन्धित जिल्लाकै पार्टी सदस्यले छनोट गर्ने बताए।
पार्टीका नेता तथा सम्भावित उम्मेदवार केन्द्रमा मात्र सीमित नभई गाउँ, वडा र टोलसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले जनतासँग जोडिने कांग्रेसको कार्यशैली र नेताहरूको व्यवहार परिवर्तन गर्नुपर्ने बताए।
नेताहरू विमानस्थलमा आउँदा तामझामसहित स्वागत गर्ने, माला र खादा लिएर लामबद्ध हुने तथा लामो सवारीसाधनको लस्कर लगाउने प्रवृत्तिले जनताबाट टाढा भएको सन्देश जाने उनको भनाइ थियो। नेताहरू सर्वसाधारणले सहजै भेट्न सक्ने, आफ्ना कुरा राख्न पाउने र नेताले पनि उनीहरूका कुरा सुन्ने वातावरण बनाउनुपर्ने उनले बताए।
सभापतिको जिम्मेवारीलाई पार्टीका लागि नयाँ अध्यायका रूपमा लिएको उल्लेख गर्दै थापाले आगामी चार वर्ष पार्टीलाई व्यवस्थित बनाउँदै जनतासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। कांग्रेसको नेतृत्व गर्नु पार्टीको संगठन व्यवस्थापनमा मात्र सीमित नभई नेपालको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने जिम्मेवारीसमेत भएको उनले बताए।