वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।
कार्यालयले असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोज महिनामा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।
त्यस्तै, खाना पकाउने एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड रुपैयाँ, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड रुपैयाँ तथा स्याउ र नास्पातिजस्ता फलफूलको आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोजसम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ ।
चाडपर्वका समयमा आयात तथा व्यापारिक गतिविधिमा भएको वृद्धिले असोज महिनामा राजस्व संकलन लक्ष्यभन्दा बढी भएको कार्यालयले जनाएको छ ।