कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन्। प्रहरीले एक महिनाको अवधिमा ती सवारीसाधनलाई कारबाही गरी ३३ लाख ८६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार गत असोज महिनामा प्रदेशभर २३५ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए। दुर्घटनामा ३२१ वटा सवारीसाधन संलग्न थिए।
प्रहरीका अनुसार अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएका छन्। कुल दुर्घटनामध्ये २०८ वटा चालकका कारण र छ वटा मादक पदार्थ सेवनका कारण भएका थिए। त्यसैगरी, सवारीसाधनको अवस्थाका कारण नौ, यात्रुका कारण एक, पैदलयात्रीका कारण दुई, चौपायाका कारण पाँच र सडकको अवस्थाका कारण चार वटा दुर्घटना भएका थिए।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सवारीसाधनको यान्त्रिक परीक्षण कार्यक्रमसमेत सुरु गरेको प्रहरी वरिष्ठ उपरीक्षक विष्टले जानकारी दिए।
यसैबीच, प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित २४ जनालाई नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामानको मूल्य दुई करोड २० लाख छ हजार रुपैयाँ बराबर रहेको छ।
प्राकृतिक सम्पदाको दोहनमा संलग्न पाँच जना र २८ वटा सवारीसाधन नियन्त्रणमा लिएर तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। उक्त गतिविधिमा संलग्न नौ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ।
त्यस्तै, अवैध रूपमा चोरी गरिएका ६२ क्युफिट काठ बरामद गरी तीन लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले ११ लाख १२ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।