काठमाडौँ। भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ सम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन १८ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ।
नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई बिदाइ गरे।
महासङ्घका केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा रहेको टोलीमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच अभिभावक र एक निर्णायकसहित १८ सदस्य छन्।
प्रतियोगिताको छात्रतर्फ युवा आठ वर्षमुनि सुनव ओझा, १० वर्षमुनि शुभाङ्ग प्रधान, १२ वर्षमुनि अग्रिम सैंजू तथा १४ वर्षमुनि आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन्।
छात्रातर्फ १० वर्षमुनि अग्रता आचार्य, १२ वर्षमुनि निहाना श्रेष्ठ, १४ वर्षमुनि उज्जिवनी कँडेल र १६ वर्षमुनि नेलिसा ओझाले नेपालको प्रतिनिधित्व गर्नेछन्।
टोलीसँगै भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल अभिभावकका रूपमा तथा प्रबिश प्रजापति निर्णायकका रूपमा सहभागी हुनेछन्।
महासङ्घका प्रवक्ता ताम्राकारका अनुसार प्रतियोगिताले नेपाली युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रदर्शन गर्नुका साथै क्षेत्रीय प्रतिस्पर्धाको अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ।